सरकारले कार्यशैली नसुधारे पार्टी समाप्त हुन्छ : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, १० असार ।

नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले कार्यशैलि नसुधारे पार्टी समाप्त हुने बताएका छन् । आजदेखी शुरु भएको पार्टी स्थायी समिति बैठकमा मन्तव्य राख्दै प्रचण्डले सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।

‘दुई तिहाइको सरकारले गरेका काम जनअपेक्षा अनुरुपको भएन, यसलाई करेक्सन गर्न आवश्यक छ, संसारमा कम्युनिस्टहरु सत्तामा गएपछि नै सकिएका इतिहास हामीले सुनेका छौं, यहाँ त्यसो हुन दिनुहुँदैन,’ उनले भने।

प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिबाट पछि हट्ने आफ्नो निर्णयमा पछुतो लागेको समेत बताएका एक स्थायी समिति सदस्यले मूलखबरलाई बताए ।

उनले प्रचण्डको भनाई उदृत गर्दै भने उहाँले सीधै त होइन तर, सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिबाट पछि नहटेको भए अहिलेको अवस्था आउँदैनथ्यो कि भन्ने लाग्न थालेको छ भन्नुभयो,’।

अध्यक्ष प्रचण्डले भनेक थिए, ‘झन पार्टी र सरकारलाई सजिलो होला, राम्रोसँग जनताको काम होला भनेर मङ्सिर ४ गते नयाँ सहमतीका लागि तयार भएँ। न पार्टीले काम गर्‍यो, न त सरकारले,’ बैठकमा प्रचण्डले भने, ‘अझै पनि साढे २ वर्ष बाँकी छ र जनमत पनि अहिलेसम्म बिग्रिसकेको छैन, त्यसैले अब सच्याएर जानै पर्छ, नत्र पार्टी दूर्घटनामा पर्छ।’ प्रचण्डले काम गर्नुको साटो प्रधानमन्त्रीमा अहंकार बढेको बताएका थिए ।

प्रधानमन्त्रीमा निरन्तर बढेको अहंकारले पार्टीलाई घाटा भएको प्रचण्डको तर्क थियो । उनले भने, ‘सरकारप्रति प्रश्न उठिसकेको छ, अर्को चुनावमा जाँदा पनि यिनै जनताको साथ चाहिन्छ, जनअपेक्षा भड्काउने काम गर्नुहुँदैन।’ सरकारले आफूलाई सच्याउनै पर्दछ ।
‘पार्टी एकता ठूलो चुनौती मोलेर गरिएको भन्दै प्रचण्डले जनताले मत व्यक्ति हेरेर नभई पार्टीलाई आएको बताए । उनले त्यो मत व्यक्तिले प्राप्त गरेको जसरी व्यवहार हुनु भएन।’

अध्यक्ष प्रचण्डले पार्टी र सरकारको कामबाट जनतामा निराशा छाएको, कम्युनिस्ट सरकारको व्यवहार जनउत्तरदायी नभएकोले आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका थिए।