नेकपा निर्णय : विदेशी बुहारीलाई ७ वर्षपछि अंगिकृत नागरिकता, ज्वाईँलाई नदिने
विदेशी बुहारीलाई नागरिकता दिने विषयमा दलहरूविच विवाद देखिएपछि पार्टीहरू त्यस विषयमा छलफलमा छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको छ ।
शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले जानकारी दिएका हुन् ।
विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग भने अस्वीकृत भएको छ । बैठकमा प्रवक्ता श्रेष्ठले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई थप समय राखेर भए पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने धारणा राखेका थिए । तर अरु नेता सहमत भएनन् ।
नेकपा एक नेताकाअनुसार विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दलहरु सहमत छैनन् । तर बहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने सहमति भएको छ ।
नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ । अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको थिएन । पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि कांग्रेसले असहमति जनाएकाे थियाे ।