एसईईकाे ग्रेडसिटकाे कार्यविधि बनाउन बाेर्ड गठन

मूलखबर संवाददाता
काठमाडौं

०७६ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिनका लागि कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डले कमिटी गठन गरेको छ ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने कार्यविधि बनाउन तीन सदस्यीय कमिटी बताएको हो ।

बिहीबार बसेको बोर्ड बैठकले सदस्यसचिव दुर्गा अर्याल, एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेल र बोर्ड सदस्य सर्जनी जोशी रहेको तीन सदस्यीय कमिटी बनाएको अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । ‘हामीले मूल्यांकन यसरी गर भन्न पाइएन, एउटा फर्म्याट बनाएर मूल्यांकनलाई यसरी पठाइदिनु भन्ने हो,’ अध्यक्ष पौडेलले भने, ‘उहाँहरूले २-३ दिनमा कार्यविधि तयार गरेर बोर्डमा ल्याउनुहुन्छ  अनि परिपत्र गर्छौँ ।’

कोभिड– १९ को संक्रमण बढ्दै गएको र विद्यालयसमेत क्वारेन्टाइनका रूपमा प्रयोग भएकाले पहिलेजस्तै गरी परीक्षा लिन नसक्ने अवस्था भएपछि मन्त्रिपरिषद्ले ०७६ सालको एसइईको मात्र विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय गरेको हो ।

६ चैतमा हुने भनिएको एसइईका प्रश्नपत्र परीक्षा केन्द्रनजिकको चौकीमा पुगिसकेका थिए । कोरोना भाइरसको जोखिम बढेपछि एसइईको परीक्षा एक दिनअघि स्थगित भएको थियो । एसइईमा कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् ।

एसइई परीक्षा स्थगित भएपछि चौकीसम्म पुऱ्याइएका प्रश्नपत्र फिर्ता गरी जिल्ला प्रहरी कार्यालय वा ‘क’श्रेणी इलाका प्रहरी कार्यालयमा राखिएको खबर नयाँ पत्रिकामा छ ।