गण्डकीमा बढ्दै संक्रमितको संख्या : थपिए २१ जना, जम्मा २४७

मूलखबर संवाददाता
पोखरा, ३ असार

गण्डकी प्रदेशमा बुधबार २१ जना नयाँ कोरोना भाइरस कोभिड १९ संक्रमित पुष्टी भएका छन् । गण्डकी प्रदेशको नवलपरासी पूर्वका १८ र पर्वतका तीन जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या २४७ पुगेको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ पुष्टी भएका २१ जना सबै भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् । निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्मामा अनुसार नयाँ संक्रमण हुने मध्य नवलपरासीको हप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१, १८ वर्षका पुरुष, मध्यविन्दु नगरपालिकाका १६ र ३० वर्षका पुरुष, स्थानीय तह नखुलेका २७ वर्षका पुरुष र कावासोती नगरपालिकाका ३७ वर्षका पुरुष रहेका छन् । यी मध्य कावासोतीका ३७ वर्षीय पुरुषको स्वाब भरतपुर अस्पतालमा परीक्षण गरिएकोमा मंगलबार कोरोना पुष्टी भएको रिपोर्ट प्राप्त भएको थियो ।
यस्तै पर्वतको फलेवास नगरपालिकाका १९ र २१ वर्षीय पुरुष र ४६ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टी भएको थियो । नयाँ संक्रमण पुष्टि भएका मध्य नवलपरासीकालाई रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा स्थापना गरिएको आइसोलेसनमा र पर्वतका संक्रमितलाई पर्वतमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा उपचारका लागि लैजाने तयारी भइरहेको छ ।
नयाँ संक्रमण पुष्टि भएसँगै नवलपरासीमा गण्डकी प्रदेशमै सबैभन्दा धेरै कोरोना संक्रमित रहेका छन् । पछिल्लो विवरण अनुसार नवलपरासी पूर्वमा ६६, स्याङ्जामा ६४ जना, बागलुङमा ४१ जना, पर्वतमा २९ जना, गोरखामा २५ जना, तनहुँमा ११ जना, कास्कीमा ७ जना, म्याग्दीमा ३ जना र लमजुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण भएका २४७ जना मध्य २२ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कीसकेको र एक जनाको मृत्यु भएको छ ।