बेइजिङमा नयाँ कोरोना संक्रमित : विदेशबाट आयात गरिएको चपिङ्ग बोर्डबाट सरेको आशंका

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, असार

कोरोना भाइरसबाट मुक्त भएको घोषणा गरेको चिनको राजधानी शहर बेइजिङमा ६६ जना नयाँ संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । बेइजिङमा कोरोना संंक्रमण देखिएपछि चिनिया अधिकारीहरु आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन् । विदेशबाट आयात गरिएको साल्मन काट्न प्रयोग गरिएको चपिङ्ग बोर्डमा भाइरस भेटिएको पुष्टि अधिकारीले गरेका छन् ।

कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा आएको भनिएपनि अहिले पहिलो पटक एकै पटक धेरै जना सङ्क्रमित भेटिएका हुन् । राजधानी बेइजिङमा अहिलेसम्मकै धेरै सङ्क्रमित एकैपटक देखिएको उनीहरुको भनाइ छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ५७ जना पूर्ण रुपमा सङ्क्रमित भएका छन् भने अरु नौ जना सङ्क्रमणको पुर्वअवस्थामा रहेका छन् ।

सङ्क्रमितमध्ये ३८ जना आन्तरिक रुपमा सरेर सङ्क्रमित भएको पाइएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले अरु १०३ जनालाई पनि शंकास्पद मानेर क्वारेन्टिनमा राखिएको बताएका छन् ।

आन्तरिक रुपमा सरेर सङ्क्रमित ३८ जना मध्ये ३६ जना बेइजिङका रहेका छन् भने अरु दुई जना लिओनिङ प्रान्तका रहेका छन् । पछिल्ला केही दिनमा बेइजिङमा मात्रै ४६ जना सङ्क्रमित भेटिएका छन् । यसलाई सरकारी अधिकारीहरुले आश्चर्यजनक मानेका छन् ।

बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न केही क्षेत्रमा अझ लकडाउन विस्तार गरिएको छ।

कोभिड(१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा पनि बढाइएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार बेइजिङमा सङ्क्रमणका एक सयभन्दा बढी घटना देखिएका छन्।

पछिल्लो सात हप्तायता बेङजिङमा विदेशबाट आएका व्यक्तिहरूमा मात्रै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।
पछिल्लो प्रकोपलाई शहरको सबभन्दा ठूलो थोक बजारसँग जोडेर हेरिएको बीबीसीले जनाएको छ।

केही दिनअघि सिनफडी मार्केटमा ५१७ जनाको परीक्षण गर्दा ४५ जना कोभिड( १९ बाट सङ्क्रमित भएको फेला परेका थिए। उनीहरूमध्ये कसैमा पनि लक्षण देखिएको थिएन। त्यसपछि उक्त बजार र वरिपरिका २१ वटा क्षेत्रमा लकडाउन गरिएको छ र उक्त बजारमा काम गर्ने १० हजार कर्मचारीको परीक्षण गर्ने भनिएको छ।

स्थानीय सञ्चारमाध्महरूका अनुसार भाइरस विदेशबाट आयात गरिएको साल्मन काट्न प्रयोग गरिएको चपिङ्ग बोर्डमा देखिएको पत्ता लागेको थियो। लगत्तै बेइजिङका सुपरमार्केटहरूले माछा बेच्न छाडे। अन्य केही अधिकारीसहित सिनफडी बजारका महाप्रबन्धकलाई पदबाट बर्खास्त गरिएको छ।