कुवेतबाट फर्कने क्रम जारी, शुक्रबार पनि आए १ सय ४९

मूलखबर संवाददाता
काठमाडौँ, जेठ

कुवेतबाट शुक्रबार पनि १४९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । कुवतको जजिरा एयरलायन्सको जहाजबाट नेपाली नागरिक आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले १४२ जना महिला सात जना बालबालिकासहित १४९ जना नेपाल आएका जानकारी दिनुभयो । तीमध्ये केही भर्खर जन्मेका शिशुसमेत रहेका छन् ।

अवैध रुपमा कुवेतमा बसेकालाई त्यहाँको सरकारले आममाफी दिएको थियो । जसमध्ये नेपाली महिलालाई तीन वटा फ्लाइटमार्फत कुवेत सरकारले आफ्नै खर्चमा स्वदेश फिर्ता गराइसकेको छ ।

आममाफी पाएलगत्तै स्वदेश फिर्तिको तयारीमा उनीहरु झण्डै डेढ महिना अस्थायी सेल्टरमा बसेका थिए । यसैबीच नेपाली नागरिक फिर्ता गर्न थप दुई उडानको लागि कुवेतबाट पहल भइरहेको जनाइएको छ ।

बिहिबार मात्रै दुई वटा जहाजको उडानमार्फत २९९ जना नेपाली महिला नेपाल आएका थिए । कुवेतबाट फर्कन चाहेका सात हजार ९९१ मध्ये २ हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् ।

कुवेतबाट शुक्रबार फर्किएका १०३ सहित १०७ जनालाई चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्‍वारेन्टाइनमा राखिएको छ । कुवेतबाट ९ जना बालबालिकासहित १ सय ५० नेपाली महिला कामदार शुक्रबार जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको उडानमार्फत त्रिभूवन विमानस्थल आइपुगेका हुन् ।

जसमध्ये प्रदेश १ को ३७, २ को ३, गण्डकी प्रदेशको ३२, प्रदेश ५ का २६ र कर्णाली प्रदेशका ५ जना खरिपाटी क्‍वारेन्टाइनमा छन् । खरिपाटी क्‍वारेन्टाइनमा ९ बालबालिकासमेत छन् । वाग्मती प्रदेशका ४५ जनालाई भने ललितपुर जावलाखेलस्थित स्टाफ कलेज क्‍वारेन्टाइनमा राखेको छ ।

शुक्रबार कुवेतबाट आएका १ सय ५० मध्ये २ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण शंकास्पद देखिएको भन्दै ‘नेजल स्वाब’को नमुना संकलन गरेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ । उनीहरुको रिपोर्ट नआउञ्जेल क्‍वारेन्टाइनमा राखिएकाहरुलाई पनि सम्बन्धित जिल्ला नपठाउने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

त्यसैगरी, शुक्रबार नै जापानबाट आएका ६ मध्ये ४ जनालाई खरिपाटी क्‍वारेन्टाइनमा राखिएको छ । एक पुरुष क्यान्सरको बिरामी भएकाले उपचारका लागि नेपाल क्यान्सर अस्पताल हरिसिद्धि पठाएको र उनकी पत्नीलाई समेत बिरामीसँगै पठाएको पाण्डेले बताइन् । शुक्रबार साँझ उनीहरुलाई त्रिभूवन विमानस्थलबाट नेपाली सेना, नेपाल प्रहरीको स्कटिङ्गमा साझा यातायात, सेनाको बसमार्फत ‘होल्डिङ सेन्टर’नलगी क्‍वारेन्टाइन पुर्‍याइएको हो । क्‍वारेन्टाइनमा राखिएकाहरुलाई सेना, प्रहरी, सशस्त्र प्रहरीलगायतको संयुक्त सुरक्षा समितिले व्यवस्थापन गरेको छ । उनीहरुलाई खाने, बस्नेको व्यवस्था गर्ने, व्यक्तिगत रेकर्ड राख्नेलगायत कार्य गरेको छ ।

गैरकानुनी रुपमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदारलाई कुवेत सरकारले पठाएको हो । उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेको हो । यसको सबै खर्च कुवेतले नै बेहोरेको जनाएको छ ।

यसअघि बिहीबार कुवेतबाट फर्किएका नेपाली कामदार महिलाहरुलाई भने होल्डिङ्ग सेन्टरमा राखेर व्यक्तिगत विवरण, स्वास्थ्य परीक्षण गराई सम्बन्धित जिल्ला पठाइसकेको छ ।