विदेशमा समस्यामा परेका नेपालीलाई जेठ ३२ देखि यसरी गरिँदैछ उद्वार (तालिकासहित)

मूलखबर संवाददाता
काठमाडौं

सरकारले ६७ उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने भएको छ, नेपाल वायुसेवा निगम र हिमालयले ४३ उडान गर्नेछन् भने विदेशी एयरलायन्सले २४ उडान गर्नेछन्, उद्धार उडानको भाडादरसमेत तय गरिएको छ ।

सरकारले आगामी ३२ जेठ आइतबारदेखि ११ असारसम्म विदेशमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । नेपाली र विदेशी एयरलायन्सले गरेर ६७ वटा उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको खबर नयाँ पत्रिकामा छ ।

मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई ३२ जेठबाट हुने विस्तृत उद्धार तालिका बुधबार नै पठाएको छ । कुनकुन देशबाट कुन एयरलायन्सले कतिको उद्धार गर्ने भनेर तालिका दिइएको हो । सरकारले पहिलो चरणमा विभिन्न देशबाट २४ हजार नेपालीको उद्धार गर्ने सूची तयार पारेको छ । पर्यटन मन्त्रालय सोहीअनुसार पहिलो चरणको उद्धारका लागि उडानको सेड्युल तयार पारेको हो ।

मन्त्रालयले दुई एयरलायन्स कम्पनीका कुल दैनिक १० वटा उडानबाट नबढ्ने गरी तालिका बनाएको हो । १० उडानबाट दुुई एयरलायन्सले दैनिक एक हजार आठ सयजनाको उद्धार गर्नेछन् । मन्त्रालयले उडानको भाडासमेत तय गरेर मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयमा पठाएको छ । सरकारले भनेबमोजिम उद्धारका लागि तयार रहेको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताए ।

नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले विदेशबाट दैनिक १४ उडानमार्फत दुई हजार ६ सय ५६ यात्रुको नेपाल ल्याउन सक्ने प्रस्ताव गतसाता पठाएका थिए । एकैदिन ठूलो संख्यामा मानिस ल्याउँदा व्यवस्थापन गर्न कठिन हुने भएकाले तत्काल दैनिक १० उडानमार्फत मात्रै उद्धार गर्ने मन्त्रालयले जनाएको छ ।

निगमसँग एक सय ५८ सिट क्षमताका एयरबस ३२० सिरिजका दुई र दुई सय ७४ सिट क्षमताका एयरबस ३३० सिरिजका दुई थान जहाज छन् । हिमालय एयरलायन्सका पनि एक सय ५८ सिट क्षमताका एयरबस ३२० सिरिजका तीन थान जहाज छन् । ती जहाजले प्रत्येक उडानमा ८५ प्रतिशत सिट भरिएपछि मात्रै उडान गर्ने पनि मन्त्रालयले जनाएको छ ।

कहाँ कहिले उडान ? 

उद्धारको क्रममा नेपाली एयरलायन्सले ४३ उडान गर्नेछन् भने विदेशका एयरलायन्सले २४ उडान गर्नेछन् । ४३ मध्ये नेपाल वायुसेवा निगमले २४ र हिमायल एयरलायन्सले १९ वटा उडानबाट उद्धार गर्नेछन् ।

मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार-

नेपाल वायुसेवा निगमको जहाज वाइडबडीले

जेठ ३२ गते बंगलादेशमा पहिलो उडानबाट नेपाली ल्याइनेछ ।

असार १ गते मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान चार्टर गरेर ल्याइनेछ ।

असार २ गते युएई, कतार, कुवेत र श्रीलंकाबाट एक–एक उडानमार्फत चार्टर गरेर नेपाल ल्याइनेछ ।

असार ३ गते अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिकाबाट एक–एक उडान गरेर नेपाली ल्याइनेछ ।

असार ४ गते साउदी अरब, युएई, मलेसिया र ओमनबाट एक–एक चार्टर उडान हुनेछ ।

असार ५ गते जापान, कुवेत, साउदी अरब र नाइजेरियाबाट दुई–दुई उडान हुनेछ ।

असार ६ गते साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपबाट एक–एक चार्टर उडान गरेर नेपाली ल्याइनेछ ।

असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत, मलेसियाबाट दुई–दुई चार्टर उडान हुनेछ ।

असार ८ गते अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान गरेर नेपाल ल्याइनेछ ।

असार ९ गते जापान, माल्दिभ्स, युएई र युगान्डाबाट दुई–दुई चार्टर उडान हुनेछ ।

असार १० गते साउदी, कुवेतबाट दुई–दुई उडान हुनेछ ।

असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुनेछ ।