प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने, के आउला नयाँ कुरा ?

मूलखबर संवाददाता
काठमाडौं, २८ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। कोरोना रोकथामको लागि भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको ७९ औं दिनमा प्रधानमन्त्री ओलीले फेरी संसदमा संवोधन गर्न लागेका हुन् ।

आजबिहान ११ बजे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका काम, संसदमा पेश गरिएको बजेटलगायतको विषयमा बोल्ने सचिवालय श्रोतले बताएको छ ।

संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीले कोरोना रोकथामको विषयमा भएको खर्च, नागरिकप्रतिको जिम्मेवारी र उत्तरदायीत्व तथा विविध विषयमा आफ्ना प्रश्नहरु भएको र प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुपर्ने बताएको थियो ।

हिजो मात्रै संसदबाट नेपालको निशाना छापमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा राख्न संविधान संशोधन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

संसदमा देखिएको यो एकता र सर्वदलीय सहमतिको जगमा बसेर आज सत्तारुढ दलका अध्यक्ष समेत रहेका प्रधानमन्त्री के पी ओलीले संदमा आज गर्ने संवोधनलाई विशेष चासोका रुपमा हेरिएको छ । भारतसँग कसरी नेपाली भुभाग फिर्ता लिने भन्ने विषय अब पेचिलो बनेको छ यस विषयमा पनि प्रधानमन्त्रीको संवोधनमा समेटिने बताइएको छ ।

त्यसैगरी बहुचर्चित र विवादित बनेको अमेरिकी सहयोग एमसिसीको विषयमा पनि प्रधानमन्त्रीले केही बोल्ने बताइएको छ । उनको पार्टीभित्रै एमसिसीबारे गम्भीर मतभेदमात्रै रहेको छैन पार्टीको बहुमत हिस्सा एमसिसीलाइ यथास्थितिमा पारित गर्न नहुने पक्षमा देखिएको छ । प्रधानमनत्री भने एमसिसी पारित गर्नुपर्ने अडानमा छन् ।

त्यसैगरी लकडाउनले जनजिवन चौतर्फी प्रभावित र आतंकित बनिरहेको बेला प्रधानमन्त्रीले गर्ने संवोधनमा लकडाउनको उपलव्धी र संकटको सामना गर्ने केही नयाँ कुरा आउँछन् की भन्ने चासो पनि रहेको छ ।

लकडाउनको निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक बस्ने छ। आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने पनि बताइएको छ ।

बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको सरकारले पछिल्लोपटक थपेको अवधि यही जेठ ३२ गते सकिँदै छ। आजको मन्त्रिपरिषद् बैठकले अब लकडाउन कस्तो बनाउने, कहिलेसम्म लम्ब्याउने भन्ने विषयमा समेत निर्णय गर्ने एक मन्त्रीले मन्त्रीले जानकारी दिए।

लकडाउन लम्बिँदै गएपछि व्यवसायी तथा सर्वसाधारणले उल्लंघन गर्ने क्रम बढिरहेको छ। काठमाडौं उपत्यकामा पसल खोल्ने विषयमा दैनिकजसो व्यापारी र प्रहरीबीच विवाद हुने गरेको छ। लकडाउनको मोडालिटी तय गर्न प्रधानमन्त्री ओलीले अघिल्लो हप्ता मात्रै विज्ञहरुसँग छलफल गरेका थिए।