अारजु राणाकाे स्कुलले गर्याे यस्तो ठगी, अनलाइन कक्षाकाे बील ४५ हजार

मूलखबर संवाददाता
काठमाडौं

युलेन्स स्कुलले लकडाउन र कोरोना महामारीमा पनि अभिभावकको ढाड सेक्ने काम गरेको छ । सरकारले लकडाउनमा विद्यालय खोल्न नपाइने र अभिभावकसँग कुनैपनि बहानामा सो अवधिको शुल्कसमेत उठाउन नपाइने बताएको छ । तर, अमेरिकी बैंक स्ट्रिट स्कुल अफ एजुकेशनको सहकार्यमा सन् २००६ देखि खुमलटारमा सञ्चालित युलेन्सले यातायात खर्चबाहेक बैशाख महिनाको बीलमा विभिन्न शीर्षकअन्तर्गत ४५ हजार रूपैयाँ उल्लेख गरेको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा अध्यक्ष रहेको उक्त स्कुलले भर्चुअल विधि (भिडियो कन्फरेन्स) बाट अध्यापन गरेको नाममा विभिन्न शीर्षकको रकमसमेत उठाएको देखिन्छ । प्राप्त बीलमा ट्युसन शुल्क छ हजार पाँच सय, सूचना प्रविधि तीन हजार पाँच सय र श्रव्यदृश्य तीन हजार पाँच सय रूपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी, प्रशिक्षण सामाग्रीवापत चार हजार, स्टेशनरी चार हजार, थिएटर तीन हजार, वातानुकूलित (एसी) तीन हजार पाँच सय, फिल्ड ट्रिप्स तीन हजार, खाना दश हजार र रचनात्मक क्रियाकलाप (CAS) चार हजार गरी ४५ हजार रूपैयाँको बील बनाएर पठाएको देखिन्छ ।

‘स्कुलले महामारीको समयमा भर्चुअल विधिबाट पठनपाठन गरेपनि ट्युशन शुल्क र सूचना प्रविधि तथा श्रव्यदृश्य शीर्षक बाहेकका शीर्षकमा रकम उल्लेख गर्नु द्रब्यमोहको पराकास्ठा’ रहेको एकजना अभिभावकले बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिमा देउवाबाहेक ललितपुर महानगरपालिकाको शिक्षा विभागकी प्रतिनिधि सरिता पौडेल र वार्ड नं. १५ का प्रतिनिधि सुदर्शन मिश्र बसेका छन् । युलेन्स एजुकेशन फाउण्डेशनको बोर्डमा अर्थशास्त्री डा. विश्व पौडेलसमेत छन् ।- जनअास्थाबाट