लकडाउनको मोडल परिवर्तन गरिन्छ : मन्त्री भट्ट
आपूर्तिमन्त्री लेखराज भट्टले लकडाउन क्रमशः खुकुलो बनाउँदै लगिएको बताएका छन् । उनले एक टेलभिजन अन्तरवार्तमा भने ‘लकाउन क्रमशः खुकुलो भइरहेको छ ।’
उनले भनेका छन्, सरकारले लकडाउन खुकुलो पारेको कुनै घोषणा नगरेपनि सरकारी निकायमा खुकुलो पार्दै लाने गरी व्यवहारहरु भएका छन् । अत्यावश्यक काममा निस्किएकाहरुलाई सुरक्षाकर्मीले अवरोध गरेका छैनन् । काठमाडौं उपत्यकामा छिर्ने नाकाहरुमा भने कडाई गरिएको छ । एक जिल्लाबाट अर्को जिल्लामा जान अझै कडाई छ । तर, आन्तरिक रुपमा काममा आवतजावत गर्नेहरुलाई व्यवहारिक रुपमा छुट दिइएको छ ।
सरकारले परिस्थिति हेरेर लकडाउन खुकुलो पार्ने गरी मापदण्ड बनाउँदैछ । मन्त्री भट्टले भने, ‘अहिले हामी तयारी गर्दैछौं, व्यवहारिक खालको मोडल तयार हुँदैछ ।’ उनले यातायात क्षेत्र कुन कुन र कहाँ कहाँ चलाउन दिने अध्ययन भइरहेको खुलाए । संक्रमण बढी भएको ठाउँ सिल गर्ने र नभएको ठाउँमा सञ्चालन गर्न दिने गरी तयारी भइरहेको छ ।
कोभिड (१९ रोकथामसम्बन्धी सरकारी संयन्त्रका सदस्य समेत रहेका आपुर्तीमन्त्री लेखराज भट्टले अब परिस्थिति अध्ययन गरेर लकडाउनको मोडल परिवर्तन गर्ने र आर्थिक गतिविधिलाई सहज रुपमा अगाडि बढाउने हो । विस्तारै जनजीवन सहज बनाउँदै लैजाने समेत बताए ।
३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाउने क्रम भएकाले बीचैमा पनि कार्यान्वयनमा आउनसक्ने बुझिएको छ । नयाँ मोडालिटी अनुसार अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ । यसका लागि कोरोनाको जोखिमको अवस्था हेरेर मापदण्ड तोकेर गर्ने बुझिएको छ ।
३२ जेठ अगावै या लगत्तै रोकथामको उपायसहित निश्चित समय, क्षेत्र र कामका सिलसिलामा निजी सवारी साधन चल्न दिइने विश्वस्त स्रोतले जबानकारी दिएको छ । दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको हो । नयाँ मोडालिटीको लकडाउनले आर्थिक गतिविधिलाई सहजीकरण गर्ने नीति लिन लागेको छ ।
मोडालिटी अनुसार विभिन्न क्षेत्र तोकेर कोरोना भाइरसको कम या बढी जोखिम टुंगो लगाइने बताए । जोखिमयुक्त स्थानलाई सिल गरिने उनको भनाई छ । त्यसपछि आवश्यकता हेरी यातायात सञ्चालनबारे समेत निर्णय लिइने उनले बताए ।
भारतसँगको सिमामा भने कडाई गरिनेछ । २० वटा नाकाबाट मात्र आवतजावत गर्न पाइनेछ । तर, भारतबाट प्रवेश गरेपछि कम्तिमा १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ । सिमानाकामा सेना परिचालन गरिनेछ । अत्यावश्यक ठाउँमा सेना परिचालनको निर्णय सरकारले गरिसकेको छ । राष्ट्रपतिबाट सेना परिचालनको घोषणा गर्नेबारे तयारी भइरहेको छ ।
महानगरी प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले लकडाउनमा सरकारले सहजीकरण गरेको बताए । अब लकडाउनको पालना गर्दै आफ्नो सुरक्षा आफैले गर्ने बताए । उनले भने, ‘अब लकडाउनको सहजीकरणतर्फ उन्मुख हुन्छौं ।’ समय र परिस्थिति अनुसार सवारी सञ्चालन केही सहज भएको बताए । उनले भने, ‘पहिलाको जस्तो पुर्ण रुपमा सवारीलाई निषेध गरिएको छैन ।’ लकडाउनको स्वरुपमा परिवर्तन भएको उनको भनाई छ ।