बाँके दुर्घटनाका मृतकको सनाखत, मृतक र घाइते सबैको कोरोना नेगेटिभ(नामावलीसहित)

मूलखबर संवाददाता
काठमाडौं, १९ जेठ

भारतबाट फर्किएका नेपालीलाई सल्यानतर्फ लैजाने क्रममा बाँकेको अगैयामा गएराति भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै ३३ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ ।

नेपालगञ्जबाट सल्यानतर्फ जाँदैगरेको बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर २, कचनापुर र शमसेरगन्जको बिचमा पर्ने ठोरी जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा दुर्घटना भएको थियो ।

नेपालगञ्जको जमुनाहबाट दाङ, सल्यान र रुकुमसमेतका नागरिक र चालक, सहचालक गरी उक्त गाडीमा ३३ जना सवार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बीस जना क्षमता रहेको गाडीमा ३३ जना सवार हुँदा ओभरलोडका कारण गाडी नियन्त्रण हुन नसक्दा दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पविन्द्र बमले बताउनुभएको छ ।

तर, घाइतेहरूले चालकले मदिरा सेवन गरेर लापरवाहीपूर्ण तरिकाले गाडी चलाएकोले दुर्घटना भएको आरोप लगाएका छन् ।
घाइते २१ जनाको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको भेरी अस्पतालका प्रमुख डा। प्रकाश थापाले बताउनुभयो ।

उनीहरू भारतका विभिन्न ठाउँहरूबाट आएकोले सोमबार बिहान भेरी अस्पतालमा सबैको स्वाब सङ्कलन गरेर कोरोना परीक्षण गरिएको थियो । पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा सबै ३३ जनाकै रिपोर्ट नगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार कोरोनाको आशङ्कामा अस्पतालको इमरजेन्सी वार्डलाई नै आइसोलेसनमा परिणत गरेर उनीहरूको स्वाब सङ्कलन गरिएको थियो । सबैको रिपोर्ट नगेटिभ आएपछि स्वास्थ्यकर्मी र दुर्घटनास्थलबाट घाइतेलाई लिएर आउने सुरक्षाकर्मीहरूले राहात महसुस गरेको उहाँले बताउनुभयो ।

घाइतेहरूलाई अस्पतालमा ल्याइएलगत्तै इमरजेन्सीलाई सिल गरेर उपचार भइरहेकोमा रिपोर्ट नगेटिभ आएपछि उपचारमा र मृतकहरूको शव आफन्तलाई बुझाउन सहज भएको भेरी अस्पतालका प्रमुख डा। प्रकाश थापाले बताउनुभयो ।

नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानतर्फ हिँडेको उक्त यात्रुबाहक फोर्स गाडी बाँकेको अगैयानजिकै बिग्रेर उभिएको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

मृतकहरुको परिचय :

साबिक बराह गाविस वडा नम्बर ३ दैलेखका गाडी चालक दानबहादुर खड्का, सुर्खेत लाटी कोइलीका गाडी सहचालक पवन भण्डारी, राजपुर ६ दाङका रामबहादुर पुन, ठेगाना नखुलेका बुद्धिराम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, पुर्णबहादुर पुन, सीता पुन र रितेश खड्का रहेका छन् । एकजनाको अझै सनाखत हुन बाँकी रहेको छ ।

घाइतेहरुको परिचय :

दाङका ४५ वर्षीय मेघराज केसी, दाङ तुल्सीपुरका ३९ वर्षीय विष्णु गिरी, वडा नं।२ का २३ वर्षीय रुपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का २० वर्षीय दिपेश चौधरी, सोही गाउँपालिका वडा नं. २ का २१ वर्षीय जीवन घर्ती, दाङ जिल्लाका २० वर्षीय भरत थापा रहेका छन् ।
यस्तै घाइते हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका  ७ का १७ वर्षीय सुनिल परियार, सोही ठाउँका २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, रोल्पाका ५२ वर्षीय नरबहादुर विक, रोल्पाका ४० वर्षीय दिलबहादुर विक रहेका छन् ।

त्यस्तै सल्यान जिल्ला शारदा नगरपालिका ६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका २० वर्षीय मिनराज विक, सिद्धकुमाख गाउँपालिका ५ का तेजबहादुर बुढाथोकी, सल्यानका १८ वर्षीय धनबहादुर बोहरा, सिद्धकुमाख ४ का २८ वर्षीय लोकेश घर्ती, सल्यानकै ५२ वर्षीय दीपबहादुर बुढा, सल्यान जिल्लाका शिव भण्डारी, सिद्धकुमाख गाउँपालिका ५ का २६ वर्षीय निमबहादुर बादी, १८ वर्षीय देवेन्द्र बुढाथोकी र १७ वर्षीय ज्ञानबहादुर बोहरा रहेको रहेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बताउनुभयो । उहाँहरू सबैको उपचार भेरी अस्पतालमा भैरहेको छ ।- रासस