स्याङजाका थप ३ मा कोरोना संक्रमण पुष्टि, गण्डकीमा जम्मा १५ जना

मूलखबर संवाददाता
स्याङजा, १५ जेठ

स्याङ्जाको वालिङका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू गत सोमबार भारतबाट आएर गाउँ फर्किएर क्वारेन्टाइनमा बसेका थिए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माले नयाँ संक्रमितमा दुई पुरुष र एक महिला रहेको जानकारी दिए । उनीहरूलाई स्याङ्जा सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको छ । संक्रमित सबै एकै परिवारभित्रका हुन् ।

स्याङ्जामा मंगलबार पनि दुई जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । बुधबार मात्रै बागलुङमा थप ६ जनामा कोरोना देखिएको थियो । यसअघि बागलुङकै दुई संक्रमित निको भएर घर फर्किसकेका छन् ।