कांग्रेसको पदाधिकारी बैठक सानेपामा, यस्ता छन् एजेण्डा

मूलखबर संवाददाता
काठमाडौं, ११ जेठ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको छ । कांग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको हो ।
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सङ्घीय संसद्मा दर्ता गरेको “नेपालको संविधान (दोस्रो संशोधन), २०७७ र कोरोना भाइरस सङ्क्रमणको अवस्थालगायत विषयमा छलफल हुने काँग्रेस मुख्यसचिव कृृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि सो विधेयक दर्ता गराएको हो । बैठकमा कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले हालसम्म गरेका कामको समीक्षा र पार्टीका तर्फबाट गर्न सकिने योगदानका बारेमा समेत छलफल हुने काँग्रेसले जनाएको छ ।