
नेपालमा कोरोना : थपिए २५ जना, ३८ जिल्लामा संक्रमण, जम्मा ४२७
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण नेपालमा पनि बढिरहेको छ । आजसम्म नेपालका ३८ जिल्लमा यसको संक्रमण विस्तार भएको छ ।
संक्रमणको रोकथामको लािग भन्दै सरकारले ५७ दिन लकडाउन गरिसकेको छ भने आगामी २० जेठसम्मको लागि सातौं पटक लकडाउन थप गरिएको छ ।
कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई संक्रमण देखिएको हो । आज देखिएका संक्रमितहरु तीनवर्षदेखि ४८ वर्षसम्मका रहेका छन् । आज सात महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
देवकोटाले अहिलेसम्म ३५ हजार ४९४ पीसीआर परीक्षण र ७५ हजार ७२ आरडीटी परीक्षण भएको जानकारी दिए । काठमाडौं उपत्यकामा पनि परिक्षणको दर बढाइएको उनले जानकारी दिएका छन् ।
