कांग्रेसको संसदीय दलको बैठक ३ गते बस्दै

मूलखबर संवाददाता
काठमाडौं, १ जेठ ।

प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ ३ गते शनिबार संसदीय दलको बैठक बोलाएको छ ।

संसदीय दलको बैठक मिति शनिबार दिउँसो साढे १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

शुक्रबार अपरान्ह ४ बजे संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसको भोलिपल्ट बस्ने कांग्रेस संसदीय दलको बैठकले समसामयिक राजनीतिका साथै सरकारको नीति तथा कार्यक्रमका विषयमा पनि आफ्नो धारणा बनाउने नेताहरुले बताएका छन् ।

सरकारले नीति तथा कार्यक्रम जारी गर्ने भोलिपल्ट प्रमुख प्रतिपक्षी दलको बैठक बस्न लागेको हो ।