लकडाउनमा बजार अनुगमन टोलीमाथि व्यापारीको आक्रमण प्रयास, प्रहरीको पनि असहयोग !

मूलखबर संवाददाता
काठमाडौं, १ जेठ ।

लकडाउनको समयमा समस्यामा परेका जनतालाई सहयोग गर्नुका बदला झन अनियमितता गर्ने व्यापारीको निगरानी गर्न हिँडेको अनुगमन टोलीमाथि नै व्यापारीद्वारा आक्रमण प्रयास भएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर श्रेष्ठको नेतृत्वमा गएको अनुगमन टोलीमाथि आक्रमण प्रयास भएको हो ।

अनुगमनको क्रममा काठमाडौं महानगर अन्तरगत नयाँ बजार खुसिबुमा गुण्डागर्दी शैलीमा आक्रमण प्रयास भएको हो ।
अनुगमनको क्रममा म्याद नाघेका सामग्रीहरु विक्री गरेको, बढि मुल्य लिएको, बील विजक जारी नगरेका लगायतका कमजोरीहरु फेला परेको र  उल्टै आक्रमण प्रयास गरेपछि पसल सिल गरी आक्रमणकारी व्यपारीलाई प्रहरीमा बुझाएको श्रेष्ठले जानकारी दिए । तर अनियमितता गर्ने र आक्रमणकारीहरुलाई प्रहरीले भोलीपल्टै थप कार्वाही नगरी छाडिदिएको पनि श्रेष्ठले बताए ।

लकडाउनको समयमा बढ्नसक्ने कालोबजारी तथा कृतिम अभाबको अनुगमनका लागि जिल्ला प्रशासन कार्यलय, गुणस्तर तथा नाप तौल विभाग, बाणिज्य विभाग, पत्रकार,प्रहरी प्रशासन तथा अधिकारकर्मीको संयुक्त टोलीले मंगलबार काठमाडौंको नयाँबजार क्षेत्रका एके स्टोर, गोर्खाली खाधान्न भण्डार लगाायतका खाधान्न स्टोरमा अनुगमन गरेको थियो।

प्रशासकिय अधिकृत श्रेष्ठका अनुसार अनुगमनका क्रममा अगम फुड्स प्रालीको उत्पादन रहेको ‘ध्रुब’ ब्राण्डको चामल म्याद सकिएको अबश्थामा समेत फरक फरक मूल्यमा विक्रि गरिएको पाईएको थियो ।

अनुगमनका टोली पुगेको जानकारी पश्चात सञ्चालक फरार भएका थिए । अनुगमनका क्रममा चामलका साथै म्याद सकिएका पिठो समेत बेच्ने गरेको पाईएको थियो।
अनुगमनपश्चात टोलिले गोदाममा सिलबन्द गरी विक्रिवितरण रोक्क गर्न निर्देशन दिएको छ। यस क्रममा सञ्चालकले छाडेर भागेको एक मोटरसाईकल समेत प्रहरीलाई जिम्मा लगाईएको थियो।

बजार अनुगमनमा देखिएका अनियमितता, प्रवृत्ति आदि देखेपछि श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा यसबारे असन्तुष्टि प्रकट गर्दे लेखेका छन् ‘छाडा बजार ,उच्श्रृखंल मानिस, शक्तिको दुरुपयोग आदिकारण राम्रो जनहितको काम गर्न बाधा’
उनको स्टाटसबाट थाहा हुन्छ पावरका आडमा बजारमा अनियमितता हुने गरेका छन् र प्रहरी त्यसको मुकदर्शक र कतिपय अवस्थामा साक्षी नै बनेको छ ।