नेपालमा कोरोना : काठमाडौंमा थपिए १, कर्णाली प्रदेश कोरोनामुक्त, जम्मा २५० पुग्यो
विश्वव्यापी महामारीको रुपमा विस्तार भइरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण काठमाडौं उपत्यकामा पनि विस्तार हुन लागेको देखिएको छ । हिजो १ जनामा पुष्टि भएको कोभिड आज पनि काठमाडौंका १ जनामा देखिएपछि यसले काठमाडौमा त्रास बढाएको छ ।
स्वास्थ्य ममन्त्रालयले बिहिबार बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तुकी ६ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको हो । हिजो मात्रै चन्द्रागिरीकै एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी आजै सर्लाहीको धान्कौल नगरपालिकाका २५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी क्रमशः ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। यसरी नेपालमा एकैदिन ७ जना कोरोना संक्रमित थपिएका हुन् । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
उनीहरु सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यस्तै ३५ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।
कर्णाली प्रदेश कोरोनामुक्त
देशैभर कोरोना त्रास बढिरहँदा आजसम्म कर्णाली प्रदेश भने कोरोना मुक्त देखिएको छ । भारतसँग खुला सिमा नजोडिएको तथा शुरु देखि नै लकडाउनमा कडाई गरिएको कारण हालसम्म कोरोना ससंक्रमण नदेखिएको बताइएको छ । हिजो सम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ नभेटिएको बताइएको हो ।
अहिलेसम्म प्रदेश नम्बर २ मा सर्वाधिक कोरोनाको बिरामी फेला परेका छन् । प्रदेश २ मा १०३ जना संक्रमित पुगेका छन् ।
प्रदेश ५ मा ९४, प्रदेश १ मा ३५, बागमतीमा सहित ११, गण्डकीमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् ।