कालापानीमा तत्काल उच्चस्तरीय अनुगमन गर्न सुदूरपश्चिम प्रदेश सरकारको माग

मूलखबर संवाददाता
धनगढी, २८ बैशाख ।

सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा लिपुलेक कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गर्न संघीय सरकारसँग माग गरेको छ । भारतले नेपाली भुमीमा सडक निर्माण गरेको कुरा उठेपछि मुख्यमन्त्री भट्टले उच्चस्तरीय अनुगमन गरी वास्तविकता ल्याउन माग गर्नुभएको हो ।

मुख्यमन्त्री भट्टले सार्वभौम राष्ट्रका जनताका लागि भूमी मिचिनु असैह्य भएको भन्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारीसँग बुझ्दा नेपाली भूमीमा सडक वनाएको भन्ने आएकोले तत्काल उच्चस्तरवाट अनुगमन भ्रमण गरी बास्तविकता सार्वजनिक हुनुपर्ने बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदले यसअघि नै उक्त सीमा क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गर्न, नेपाली जनताले नेपालकै भूमी भएर जान मिल्नेगरी पैदल मार्ग निर्माण गर्न र कुटनीतिक पहलवाट समस्याको हल गर्न निर्णय गरी संघीय सरकारसँग अनुरोध गरेको बताउदै अव विलम्ब नगरी तत्काल कार्यान्वयमा जान अनुरोध गर्नुभयो । मुख्यमन्त्री भट्टले नेपाली भूमी भएर नेपाली सीमासम्म आवतजावत गर्न पैदलमार्ग निर्माणमा प्रदेश सरकार पनि वजेटमा सहकार्य गर्ने बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश दार्चुलाको लिपुलेक मिचिएको विषय उठाएर खवरदारी गर्ने सबैलाई धन्यवाद दिदैं मुख्यमन्त्री भट्टले राष्ट्रियताको यो विषयमा संयमित भएर एकजुट हुनुपर्ने बताउनुभयो ।