भारतले नेपाली सार्वभौमिकताको अवमुल्यन गर्यो : नेकपा(विज्ञप्ति)

मूलखबर संवाददाता
काठमाडौं, २८ बैसाख ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली सार्वभौमिकताको अवमूल्यन नगर्न भारतलाई चेतावनी दिएको छ । भारतले नेपाली भूमिमा सडक बनाएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै एक विज्ञप्तिमार्फत नेकपाले विरोध जनाउँदै उक्त चेतावनी दिएको हो ।

नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा सो घटनाले नेपालको सार्वभौमसत्ताको अवमुल्यन भएको ठहर गरिएको छ । भारत सरकारले शुक्रबार मात्रै नेपाली भूमि हुँदै तिब्बतको मानसरोवरसम्मको ७८ किमि सडक उद्घाटन गरेको थियो ।

नेकपाको विज्ञप्तिमा कोभिड १९ महामारीका कारण विश्व मानवजातिले नै स्वास्थ्य संकट व्यहोरिरहेका बेला भारतको गतिविधिले निराश बनाएको उल्लेख गरिएको छ । त्यसैगरी सुगौली सन्धिसहित ऐतिहासिक कागजातले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमिमा पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपाले सीमा मुद्दालाई कुटनीतिक माध्यमबाट समाधान गर्न आफूहरु तयार रहेको पनि पुनः दोहोर्याएको छ ।

शनिबार दिउँसो नै नेकपाको भ्रातृ संगठन अनेरास्ववियुका विद्यार्थी नेताहरुले काठमाडौँस्थित भारतीय दूतावास अगाडि गएर भारत सरकारको गतिविधिको विरोध प्रदर्शन गरेका थिए । नेपाल सरकारको विज्ञप्तिपछि लगत्तै भारतको विदेश मन्त्रालयले भने लिपुलेक खण्डको सडक भारतले आफ्नै भूमिमा बनाएको दावी गरेको छ ।

नेकपाले जारी गरेको विज्ञप्ति