
भर्याङबाट लडेर घाइते विप्लव नेता शर्मा अस्पतालबाटै पक्राउ
सरकारले प्रतिवन्ध लगाएकाे नेकपा विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही अस्पतालबाटै पक्राउ परेका छन् ।
चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भर्याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । शर्मा विप्लव समूहको प्रकाशन विभाग प्रमुख हुन् ।
चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले विप्लव समूहका एक नेता पक्राउ गरेको पुष्टि गरे । यद्यपि उनले नाम खुलाएनन् ।
सादा पाेशाकमा आएका ५ जना प्रहरी उनीसँग रहेको पारिवारिक स्राेतले जनाएको छ ।
