अर्को निर्णय नगरेसम्म विद्यार्थी भर्ना वा शुल्क लिने काम नगर्नु : शिक्षा मन्त्रालय

मूलखबर संवाददाता
काठमाडौं, २२ बैसाख

शिक्षा मन्त्रालयले लकडाउनको अवधिमा कुनै पनि शैक्षिक संस्थाहरुले नयाँ भर्ना नगर्न र अनलाईन कक्षको नाममा कुनैपनि शुल्क असुली नगर्न निर्देशन जारी गरेको छ ।

आज शिक्षा मन्त्रालयले विद्यार्थी भर्ना र नयाँ शैक्षिक सत्रको विषयमा मन्त्रालयको आधिकारिक धारणा भन्दै एक विज्ञप्ती जारी गर्दे कोरोना संक्रमणको प्रभाव बढिरहेका बेला कतिपय विद्यालयहरुले परिक्षाफल प्रकाशन गरी नयाँ भर्ना समेत गर्न लागेको सुचना आइरहेकाले सो गतिविधि नगर्न नगराउन निर्देशन जारी गरेको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रबक्ता दिपक शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा बैसाख २२ को मन्त्रीस्तरको निर्णय भन्दै अर्को निर्णय नभएसम्मका लागि भर्ना लगायतका सम्पूर्ण कार्यहरु प्रतिवन्ध नै गरिएको स्पष्ट पारिएको हो ।

केही दिन पहिले शिक्षा मन्त्रीको धारणा भन्दै बैसाख २६ बाट भर्ना गर्न पाउने भन्दै विभिन्न नीजि विद्यालयहरुले शुल्क लिने र भर्ना गर्नको लागि बैंक खातामा पैसा जम्मा गर्न आग्रह गरेपछि यसको चौतर्फी विरोध भएको थियो ।

साथै विज्ञप्तिमा एसइइ परीक्षाको बारेमा पनि परामर्श भइरहेकाले यस अवधिमा त्यसबारे पनि कुनै निर्णय नभएसम्मका लागि स्थगित नै रहेको स्पष्ट पारिएको छ ।
हेर्नुहोस् विज्ञप्ति