कोरोना संक्रमण तेश्रो चरणमा, हट स्पटहरु क्रमश: सिलबन्दी गरिँदै

मूलखबर संवाददाता
काठमाडौं

उदयपुर र बाँकेमा एकै टोलमा दर्जनौंमा संक्रमण भेटिएपछि नेपालमा कोरोना संक्रमणले नयाँ चरणमा पुगेको पुष्टि भएको छ । व्यक्तिबाट परिवारमा र परिवारबाट समाज र समुदायमा फैलिनुलाई कोरोनाको तेश्रो चरण भनिन्छ ।

हिजो मात्रै नेपालगञ्जका १६ जनामा कोरोना संक्रमण भेटिएको थियो भने केही समय अगाडि उदयपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य सामाग्रीसहित केन्द्र र प्रदेशबाट विज्ञसहितको प्राविधिक टोली आउन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

टोलीले सबै अवस्थाको निगरानी गर्नुका साथै परीक्षणलाई बढाउने तथा बढी भन्दा बढी मानिसहरुलाई परीक्षणको दायरामा ल्याउन रणनीति बनाउने स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले बताउनुभयो ।

एकै पटक यति धेरै जनामा संक्रमण देखिएपछि कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना बनिरहेको बताउँदै उहाँले नेपालगञ्ज उपमहानगरपालिका–८ जुलाहानपुरका तीन सय जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको बताउनुभयो । उनीहरु सबैको स्वाब संकलन गरेर परिक्षणको तयारी भैरहेको श्रेष्ठले बताउनु भयो ।

पछिल्लो पटक संक्रमित देखिएकाहरू स्थानीयमाझ घुलमिल भइसकेकाले टोलभरिका बासिन्दाको स्वाब संकलन गर्नुपर्ने अवस्था आएको फोकल पर्सन श्रेष्ठको भनाइ छ । यो घटनापछि नेपालगञ्जमा कोरोना ‘कम्युनिटी ट्रान्समिसन’ ९संक्रमितबाट अर्को व्यक्तिमा सरेको० भइसकेको र संक्रमण तेस्रो चरणमा प्रवेश गरेको चिकित्सकहरुको भनाइ छ ।

‘कोरोनाको चरण यकिन गर्ने स्वास्थ्य मन्त्रालय भए पनि नेपालगञ्जमा कम्युनिटी ट्रान्समिसन भइसक्यो,’ भेरी अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा। राजन पाण्डेले भन्नुभयो, ‘कोरोनाको संक्रमण दोस्रो चरणको बोर्डर नाघिसक्यो ।’ सो घटनापछि जुलाहनपुरलाई चारैतिरबाट पूर्ण रुपमा सिल गरिएको छ भने नगरका धेरै जसो वडाहरु सिल गरिसकिएका छन् ।

भेरी अस्पतालका प्रमुख डा। प्रकाश थापाले कोरोनाको संक्रमण देखिएका व्यक्तिहरूलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा राखिएको बताउनु भयो । ‘हामी तयारी अवस्थामै थियौँ । त्यसैले कोरोना पुष्टि भएपछि तत्काल उनिहरुलाई त्यहाँ पुरयाईयो,’ उहाँले भन्नुभयो ।

पहिलो संक्रमितको सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन भएकोमा ५५ जनाको परिक्षणमा १५ कोरोना संक्रमीत पहिचान भएको थियो । जारी थप परिक्षणको नतिजा आउदै गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।