चर्चामा नेकपा बैठक: काे नरम काे कडा ?

मूलखबर संवाददाता
काठमाडौं

शनिबार दिउँसो ५ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक साढे ६ बजेतिर मात्रै सुरु भयो, सकिँदा साढे ८ बजेको थियो । बैठक सुरु हुनुअघि दुई अध्यक्षका बीचमा करिब ३० मिनेट कुराकानी भएको थियो ।

उक्त छलफलमा उनीहरूले मिलेर जाने विषयमा समान धारणा राख्ने सहमति गरेका थिए । उनीहरूबीच केही न केही सहमति बनेको छ भन्ने विषयको छनक बैठकस्थलमा दुवै अध्यक्षलाई समान देखाउने गरी व्यवस्थापन गरिएको कुर्सीले पनि दिएका थिए । नभन्दै बैठकको सुरुवात त्यसैगरी भयो । स्रोतहरूका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा एकदम शान्त र शालीन रूपमा प्रस्तुत भएका थिए । बैठक सुरु गर्दै उनले आफ्ना कमीकमजोरीप्रति आत्मआलोचना गर्ने प्रतिबद्धता जनाए ।

‘मिलेर जानुपर्छ भन्दाभन्दै पनि हाम्राबीचमा केही तीतापिरा घटना भए, पार्टी नै फुट्लाजस्तो पनि भयो,’ ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘सरकारबाट भएका कमीकमजोरीको म जिम्मेवारी लिन्छु, आत्मआलोचना गर्छु, तपाईंहरूले पनि आफ्ना कमजोरीप्रति आत्मआलोचना गर्नुस् ।’ उनले अब सरकारले पार्टीकै सरसल्लाहमा काम गर्ने भन्दै मिलेर अघि बढ्न प्रस्ताव गरे । प्रधानमन्त्री ओलीले बहुमत पुर्‍याउन दुवै पक्षबाट भएका हस्ताक्षर च्यात्नुपर्ने बताएका थिए ।

लगत्तै बोलेका अध्यक्ष दाहालले पार्टीलाई फुटाउन नहुने भन्दै सबै मिल्नुको विकल्प नरहेको धारणा राखे । ‘पार्टी एकतालाई मजबुत बनाउनका लागि हामी एकताबद्ध भएर अघि बढ्नुपर्छ,’ दाहालले भने, ‘एकताको सन्देश दिन पनि स्थायी कमिटी बैठक बोलाउनुपर्छ, बोलाऔं ।’

अाजकाे कान्तिपुरमा खबर छ –   वरिष्ठ नेता माधव नेपालले एकताबद्ध भएर अघि बढ्ने कुरा राम्रो भए पनि मिल्ने बहानामा अर्काे पक्षलाई एक्ल्याउने कुराचाहिँ आफूले नमान्ने बताएका थिए । ‘एकताबद्ध भएर अघि बढ्नु धेरै राम्रो कुरा हो, यति कुराचाहिँ बुझिराख्नुस्, त्यही बहानामा दुई अध्यक्षको चोचोमोचो मिलाउने होइन,’ उनले भने, ‘पार्टी पद्धतिमा चलाउनुपर्छ ।’ दिउँसोसम्म आफ्नै समूहमा रहेर बैठकमा कडा रूपमा प्रस्तुत हुने बताइरहेका दाहालको शैली एकाएक बदलिएपछि नेपाल सशंकित बनेका थिए । ‘यो मिलनको कुरा राम्रो भए पनि मलाई विश्वास लागेको छैन, यसमा बेनिफिट अफ डाउट्स छ,’ नेपालको धारणा थियो ।

मिलेरै अघि बढ्नुपर्छ भन्ने अध्यक्षहरूको भनाइमा वरिष्ठ नेता झलनाथ खनाल र सदस्य ईश्वर पोखरेल पनि सहमत भएका थिए । ‘मिलेर जानुपर्छ तर विधि र पद्धतिअनुसार सरकार र पार्टीलाई चलाउनुपर्छ,’ खनालले भने । उपाध्यक्ष वामदेव गौतमले मिलेर जानुपर्छ भन्ने प्रधानमन्त्रीको प्रस्तावले आफूलाई खुसी लागेको भन्दै अब गुटबन्दी गर्न नहुने बताए ।

गौतमपछि बोलेका प्रवक्ता नारायणकाजी श्रेष्ठ भने बैठकमा अलिक कडा रूपमा प्रस्तुत भएको स्रोतको भनाइ छ । ‘उहाँले अध्यादेश ल्याएर पार्टी एकतामाथि खतराको घण्टी कसले बजायो, पार्टी फुट्छ भनेर बहस कसले चलायो, प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा दिनुस् भन्ने को हो र अहिले पार्टी एक नभई यथास्थितिमा कुरा फेर्ने को हो ? भनेर दुवै गुट लक्षित प्रश्नहरू राख्नुभएको थियो,’ स्रोतले कान्तिपुरसँग भन्यो । बैठकमा श्रेष्ठले आफू स्वार्थकेन्द्रित सत्ता संघर्षको छलफलमा सहभागी नहुने भन्दै त्यस्ता छलफलहरू किन चलाइयो भनेर प्रश्न गरेका थिए । उनले नै गौतमलाई प्रधानमन्त्री बनाउने अघिल्लो प्रस्ताव कहाँ पुग्यो भनेर सोधेका थिए ।

श्रेष्ठको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले गौतमका बारेमा सोचौं भनेका थिए । ओलीले आफूले पहिले पनि प्रधानमन्त्रीबाट राजीनामा नदिने घोषणा गरेको बताउँदै राजीनामा किन मागियो भनेर साथीहरूलाई नै सोध्नुपर्ने जवाफ दिएका थिए ।

आफ्नो पालोमा केही पनि नबोलेका गौतमले अघिल्लो साताको प्रस्तावबारे कुरा उठेपछि भने आफ्नो फेस सेभिङका लागि भए पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन आग्रह गरेका थिए । ‘मेरो हुर्मत लिने काम भयो, म आफैं उम्मेदवार बन्छु कि बन्दिन थाहा छैन तर मलाई उम्मेदवार बनाउने निर्णय गरिदिनुपर्‍यो,’ गौतमले बैठकमा प्रस्ताव गरे । त्यसपछि उनलाई उपयुक्त समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय भयो ।

यद्यपि सचिवालयको बैठकअघि प्रधानमन्त्री ओली र गौतमबीच छुट्टै कुराकानी भएको थियो । स्रोतका अनुसार उक्त कुराकानीमा ओली र गौतमले भूमिगत कालदेखिको प्रसंगसहित दुई नेताको पुरानो सम्बन्ध सम्झिँदै अघि बढ्ने कुरा भएको थियो । ‘विगतमा उहाँहरूको जुन घनिष्ठता थियो, त्यस्तै घनिष्ठता उहाँहरूबीचको आजको छुट्टै बैठकमा प्रकट भएको थियो,’ बालुवाटार स्रोतले भन्यो ।

सचिवालय सदस्य रामबहादुर थापाले पार्टी रूपान्तरण हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु नपर्ने गरी भएको छलफललाई आफूले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिए । महासचिव विष्णु पौडेलले भने पार्टीलाई फुटको संघारबाट बचाएको भन्दै सन्तोष व्यक्त गरेका थिए ।