कोरोना कहर : भारतमा २ हप्ता थपीयो लकडाउन, नेपालमा के होला ?
विश्वव्यापी महामारीको रुपमा विस्तार भइरहेको कोरोना भाइरस कोभिड १९ को प्रभाव बढ्दै गएपछि दक्षीणी छिमेकी देश भारतमा जारी लकडाउन १५ दिन थप गरिएको छ । अब भारतमा आगामी जेठ ४ गतेसम्म लकडाउन हुने भएको हो ।
भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार मे ४ तारिकबाट थप दुई हप्ताका लागि मे १७ तारिक अर्थात जेठ ४ गते सम्मका लागि लकडाउनको अवधि थपिएको हो ।
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ३५ हजार ४३ भन्दा बढी भएको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार १४७ बढी पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टा यता मृत्यु हुनेको सङ्ख्या ७७ रहेको छ ।
भारतीय गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी हालसम्मको परिस्थितिको ठोसे मूल्याङ्कन गरी सो निर्णय गरीएको जनाएको छ । सो अवधिमा देशका विभन्न भागमा रहेका रोकिएका कामदार विद्यार्थीहरूलाइ भने रेलबाट सम्बिन्धत राज्यहरूमा जान दिने निर्णय गरेको छ ।
साथै सो थपिएको अवधिमा विभिन्न जिल्लाहरुलाई संक्रमणका अबस्था हेरी रेड, ग्रीन र अरेन्ज जोनकाम रुपमा विभाजन गरी ग्रीन र अरेन्ज जोन अर्थात जोखिम कम भएका जिल्लाहरुमा लकडाउन खुकुलो बनाउने जनाएको छ
यसैबीच राससका अनुसार प्रकोप व्यवस्थापन ऐन २००५ अनुसार लकडाउनको अवधि बढाउने निर्णय भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
सरोकारवाला र विज्ञहरुसँग गरिएको छलफलमा लकडाउन बढाउनुको बिकल्प नरहेको सुझाव आएपछि सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
लकडाउनको परिणाम अहिलेसम्म सन्तोषजनक देखिएको र लकडाउन अन्त्य गरेमा कोरोनाभाइरसको सङ्क्रमण व्यापक रुपमा फैलिन सक्ने अधिकांशको निश्कर्ष रहको बताइएको छ ।
सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेपनि केही खुकुलो भने बनाएको छ । देशलाई कोरोनाभाइरसको सङ्क्रमणको अवस्थाका आधारमा विभिन्न तहमा विभाजन गरेर त्यसैका आधारमा लकडाउनको खुकुलो अवस्थालाई पनि निर्धारण गरिएको अधिकारीहरुको भनाई छ ।
भारतमा केन्द्रीय सरकारले कोरोनाभाइरसको सङ्क्रमणबाट अति प्रभावित, कम प्रभावित र प्रभाव नरहेको क्षेत्र भनेर वर्गिकरण गरेको छ ।
निश्चित क्षेत्रमा दैनिक उपभोग्य अत्यावश्यक सेवाका पसलहरु खोल्न दिने, साईकल, रिक्सा, अटोरिक्सा, ट्याक्सी लगायतका साना सवारी साधनहरु चल्न दिनेलगायतका व्यवस्थाहरु पनि लकडाउन लम्ब्याउने निर्णयमा उल्लेख गरिएको छ ।
नेपालमा पनि संक्रमणको जोखिम बढिरहेको छ । हाल सम्म ५९ जनामा संक्रमण पुष्टि भएको छ भने १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
नेपालमा चैत ११ देखि जारी गरिएको लकडाउन बैसाख २५ सम्मका लागि थप गरिएको छ ।
भारतसँग सिमा जोडिएका जिल्लाहरुमा भारतबाट आएका नागरिकहरुमा संक्रमण देखिइरहेको छ भने पहाडि जिल्लाहरुमा संक्रमण देखिएको छैन । त्यसकाराणले गर्दा नेपालमा जारी लकडाउनलाई कसरी खुकुलो गर्ने भन्ने विषयमा सरकारले छलफल चलाइरहेको छ ।
भारत संक्रमणको केन्द्र बन्ने अवस्था देखिएका बेला नेपाल त्यसबाट प्रभावित हुनसक्ने भने देखिएको छ । त्यसकारण भारतको लकडाउन खुलेपछि पनि संक्रमणलाई रोकथामका लागि नेपालमा उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ ।