लकडाउन खुलेपनि तत्काल शिक्षण संस्था खुलाउन सकिन्न – शिक्षा मन्त्री पाेखरेल

मूलखबर संवाददाता
काठमाडौं

विश्वव्यापी महामारीको रूपमा फैलिरहेकाे काेराेना भाइरस काेभिड १९ काे संक्रमण राेकथामका लागि चैत ११ गतेदेखि लागू गरिएको लकडाउनले ३२ दिन पार गरिसकेको छ । सम्पूर्ण शिक्षणसंस्था बन्द छन् । एसईई शुरू हुनै लाग्दा अघिल्लो दिन स्थगित गरिएको थियाे भने विद्यालयका परिक्षा भएपनि रिजल्ट भएको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन् ।

विद्यार्थीहरूको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरू लकडाउनपछि सबैभन्दा अन्तिममा सञ्चालन गरिने उनको भनाइ छ ।

शिक्षा पत्रकार समहूले कोरोना भाइरस र शिक्षा क्षेत्रको व्यवस्थापनसम्बन्धी शनिबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले देशभर दुई सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाइएकाले पनि तत्काल त्यहाँ कक्षा सञ्चालन गर्न सम्भव नहुने बताए।

‘जेठसम्ममा नयाँ शैक्षिकसत्र सुरु गर्न सके शैक्षिक सत्र भत्किँदैन । परीक्षाहरू पनि सञ्चालन हुनसक्छन्,’ उनले भने। जाडो-गर्मी बिदा, चाडपर्वका बिदा कटाएर अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने मन्त्री पोखरेलको भनाइ छ ।

मन्त्री पोखरेलले लकडाउनको आगामी स्वरुप हेरेर मन्त्रालयले शैक्षिक कार्यक्रम र योजना तय गर्ने बताएका छन् ।

शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले भोलि आइतबारसम्ममा सुझाव प्रतिवेदन बुझाउँदै छ ।

आइतबारै मन्त्रिपरिषद्ले १५ वैशाखमा सकिने लकडाउनबारे निर्णय गर्ने र त्यसकै आधारमा योजना बनाइने मन्त्री पोखरेलले बताए ।