कोरोना कहर : लकडाउनको २८ औं दिन, दैनिक जनजीवन प्रभावित
विश्वव्यापी महामारीको रुपमा विस्तार भइरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन गरिएको आज २८ औं दिन ।
कोभिड–१९ को रोकथामका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेपछि दैनिक जीवन प्रभावित भएको छ ।
काठमाडौंमात्रै होइन सिंगै देशको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । उद्योग धन्दा कलकाराखाना, साना मझौला उद्योगहरु पुरै बन्द भएका छन् । शिक्षणसंस्थाहरु बन्द भएका छन् । मानिसको दैनिक जनजिवन र आनी बानी फेरिएका छन् । अस्पतालहरु खाी भएका छन्, सामान्य अवस्थामा अस्पतालमा नजान विज्ञहरुले सुझाव दिएका छन् ।
सामाजिक दुरी कायम गर्न अवलम्बन गरिएको बन्दाबन्दिको अवस्थामा अत्यावस्यक काम र सेवाहरु भने सुचारु छन् । सोमबार पनि काठमाडौंमा नागरिकहरुले लकडाउनको पालना गरेको पाइएको छ ।
काठमाडौं उपत्यकामा बिहानको समयमा अत्यावश्यक सामग्री खरिद गर्नका लागि सर्वसाधारणहरु घर नजिकको पसल सम्म पुगेको भने देखिन्छ । सुरक्षाकर्मीहरु लकडाउन पालना गराउन सडकमा खटिएका छन् ।
चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन् । अत्यावश्यक सेवाका सवारी साधन गुडिरहेका छन् । सरकारले वैशाख १५ गते सम्म लकडाउनको समय बढाएको छ । नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ३१ पुगेको छ भने ४ जनालाई निको भइसकेको छ ।