सुखद खबर ! विदेशबाट लमजुङ अाएका ३१ जनामा देखिएन काेराेना

बेलिना थापा
काठमाडौं

भारत, युएईलगायत विभिन्न देशबाट लमजुङ आएका ३१ जनाको कोरोना संक्रमण परीक्षण गरिएकोमा सबैमा कोरोना भाइरस फैला नपरेको बताइएको छ । चैत १ गतेयता विदेशबाट आएका ३१ जनाको थ्रोट स्वाब लिएर काठमाडौं र पोखरा पठाइएकोमा सबैको रिपोर्ट यस्तो आएको हो । जिल्लास्थित कमाण्ड पोष्टका अनुसार उनीहको स्वाब नमूना लिएर काठमाडौं र पोखरामा परीक्षणका लागि पठाइएको थियो ।

बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा थ्रोट स्वाब लिएर परीक्षणका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार परीक्षणका लागि पठाएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
लमजुङमा विदेशबाट आएकाको तथ्यांक २ सय ८० जना रहेको छ । उनीहरु केही काठमाडौंमा होम क्वारेन्टाइनमा बसेको र केही भने स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेको प्रजिअ खड्काले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय लमजुङले स्थानीय तहको समन्वयमा पनि विदेशबाट आएको व्यक्तिको खोजी गरी थ्रोट स्वाब लिएर परीक्षणका लागि पठाएको छ ।

जिल्लास्थित क्वीक रेस्पोन्सु टिम (क्युआरटी) का संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुुुसार छोटो समयमै थ्रोट स्वाब लिएर परीक्षणको लागि पठाएको र सबैको रिपोर्ट नेगेटिभ आएको हो । सुरुमा भारतमा होली मनाएर फर्किएका एकजना बिरामी चैत ११ गते काठमाडौं रिफर गरिएको र उनको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार धादिङका कोरोना संक्रमित युवकसंग युएईबाट आएका ३ जनाको चैत १६ गते थ्रोट स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो । त्यसपछिका भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत क्षेत्रीय अस्पतालको प्रयोगशालामा परीक्षण गरिँदै आएको छ ।

दुवईबाट आएका १ जना र भारतबाट आएका २ जनासहित आफन्त गरी ४ जनाको थ्रोट स्वाब चैत २० गते पोखरा पठाइएको थियो । दुबईबाट आएका १ सहित २ जनाको २४ गते परीक्षणका लागि पोखरा पठाएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार मलेसियाबाट आएका १ जना र भारतबाट आएका १ जनासहित ६ जनाको स्वाब चैत २५ गते पोखरा पठाएको थियो । २६ गते मध्यनेपाल नगरपालिबाट १५ जनाको स्वाब पठाइएको थियो । भारतलगायतका देशबाट आएका उनीहरुको जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशका स्वास्थ्यकर्मी आएर थ्रोट स्वाब लिएका थिए ।

भारत, युएईलगायतका देशबाट लमजुङ आएका १० जनाको शनिबार लमजुङ जिल्ला सामुदायिक अस्पतालमा थ्रोट स्वाब लिएर पोखरा पठाइएको प्रशासनले जनाएको छ । उनीहरु सबै मस्र्याङदी गाउँपालिकाका हुन् । लमजुङमा प्रशासन, स्थानीय तह र स्वास्थ्यकर्मी बढी सक्रिय भएर संक्रमित सम्भावितलाई खोजी गरेर लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याएर थ्रोट स्वाब लिन थालिएको छ । कोरोना संक्रमण सम्भावित विरामीको उपचारमा सहज बनाउन ८ वटा स्थानीय तहले एम्बुलेन्सको व्यवस्था गरेको छ ।

लमजुङमा हालसम्म २ जना आइसोलेशनमा बसेका छन् ।