नेपालमा थप १ जनामा देखियो कोरोना संक्रमण : बीरामी टेकुको आइसोलेसनमै

मूलखबर संवाददाता
काठमाडौं, १२ चैत ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण नेपालमा पनि विस्तार हुँदै गएको देखिएको छ ।
नेपालमा थप एक जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य मन्त्रालयले टेकुस्थित अस्पतालमा आइसोलेसनमा रहेका विरामी युवामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार नेपालमा तेस्रो व्यक्तिमा कोरोनामा भाइरसको संक्रमण देखिएको हो । खाडिबाट आएका ३१ वर्षका युवाको स्बाव परीक्षण गर्दा मंगलबार राति १२ बजे कोरोनाको संक्रमण पुष्टि भएको उनले जानकारी दिए। उनी कुन एयरको जहाजमा कहिले नेपाल आए भन्ने खुल्न बाँकी छ।

यसअघि गत आइतबार फ्रान्सबाट आएकी एक १९ वर्षीय युवतीमा पनि कोरोना पोजेटिभ देखिएको थियो। केही समयअघि एक जना युवामा पनि कोरोना भाइरस पुष्टि भएको थियो। उनी भने उपचारपछि निको भएर घर फर्किसकेका छन्। नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।