कोरोना संक्रमित युवतिसंगै जहाजमा यात्रा गरेका युवाहरु भेटिँदै : यस्तो छ अवस्था

मूलखबर संवाददाता
काठमाडौं, ११ चैत

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना कोभिड १९ को संक्रमण पुष्टि भएकी एक नेपाली युवती सवार जहाजमा यात्रा गरेका युवाहरु काठमाडौं आएर देशका विभिन्न भागमा पुगेको भेटिएको छ । उनीहरु बागलुङ्ग, काभ्रे र धरानमा भेटिएका हुन् । बागलुङ्गका एक युवा होम क्वारेन्टाइनमा रहेका भेटिएको छ ।

संक्रमण पुष्टि भएकी काठमाडौंकी युवती सवार जहाजबाट नेपालमा आएका बागलुङ ढोरपाटनका युवा आफ्नै घरमा सुरक्षित साथ सकुशल होम क्वारेन्टाइनमा राखिएको त्यहाँ गएको मेयर देवकुमार नेपाली नेतृत्वको टोलीको जानकारी दिएको हो । उनलार्य कुनै स्वास्थ्य समस्या देखा नपरेको जनाइएको छ ।

ढोरपाटन क्षेत्रलाई आधार बनाएर पत्रकारिता गर्दै आएका पत्रकार डम्मर बुढा मगरलाई टोलिले दिएको जानकारी अनुसार ति युवा म्याग्दी नआई सिधै घर गएका थिए । उनी म्याग्दीमा आएर घुमेको भन्ने प्रचार आएको थियो । म्याग्दीमा आएको भन्ने हल्ला पुष्टि भएको छैन। मेयर नेपालीले भ्रम र हल्लाको पछि लागेर त्रसीत नहुन आग्रह गर्नुभएको छ ।

काभ्रेका दुई जना सम्पर्कमा

चैत ४ गते कतार एयरवेजमार्फत् नेपाल ओर्लिएका दुईजना सम्पर्कमा आएका हुन्। सम्पर्क आएका व्यक्ति बनेपा नपा वडा नं। २ निवासी दाहाल थरका र धुलिखेल–९ काभ्रे भञ्ज्याङका हुमागाईँ थरका हुन्।

दुवैजना अस्पतालको सम्पर्कमा आएको र टेकु पुगेर चेक गर्न अस्पतालले सुझाव दिएको धुलिखेल अस्पतालका डाक्टर सुमन श्रेष्ठले थाहा खबरलाई जानकारी दिए। ‘उहाँहरु सम्पर्कमा आउनुभएको छ, हामीसँग चेकजाँचको लागि उपकरण छैन, टेकु अस्पताल जान सुझाएका छौँ, अहिले उहाँहरु सञ्जीवनी माध्यमिक विद्यालयको क्यारेन्टाइनमा हुनुहुन्छ’ उनले भने।

दुई जना धरानका पनि

कोरोना संक्रमित युवतीसंग एउटै प्लेनमा आएका दुई जना धरानका पनि रहेका भेटिएको छ । सो विषयमा धरान उपमहानगरपालिकामा आकस्मीक बैठक बसेको छ ।

सोमबार काठमाण्डौमा कोरोना संक्रमित पुष्टि भएका युवतीसंग एउटै प्लेनमा आएका धरान ६ र १६ का दुई व्यक्ति पनि रहेकोले उनीहरुलाई क्वारेनटाईनमा कसरी पठाउने भन्ने बारेमा उपमहानगरपालिकाको बैठकमा छलफल भईरहेको धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् ।