खानेपानी मन्त्रीको निर्देशनमा केयुकेएलले सुरु गर्यो ठाउँ ठाउँमा हात धुने व्यवस्था

मूलखबर संवाददाता
काठमाडौं, ९ चैत ।

विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित संक्रमणबाट सावधानी अपनाउनु पर्ने भन्दै खानेपानी मन्त्री बिना मगरको निर्देशनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले उपत्यकाका विभिन्न ठाउँहरुमा हात धुने व्यवस्था गरेको छ ।

मन्त्री मगरको निर्देशनमा केयुकेएलले भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न सय ठाउँहरुमा साबुन पानीले हात धुने व्यवस्था गर्न लागेको हो । कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु सबैभन्दा उत्तम उपाय भएकाले ठाउँ–ठाउँमा हात धुनका लागि पानी र साबुनको व्यवस्था गरिएको केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले जानकारी दिनुभयो ।

केयुकेएलले आफ्नै खर्चमा भिडभाड हुने स्थानहरुमा हात धुने व्यवस्था मिलाएको हो । उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था भएपछि कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमबाट जोगिन सहज हुने भएको छ ।

केयुकेएलको उपत्यकामा रहेका सबै शाखाहरुले आम नागरिकहरुका लागि साबुन पानीले हात धुने व्यवस्था गरेको छ । महाराजगञ्ज शाखाले पानीपोखरी, लाजिम्पाट, जमलको दरबार हाइस्कुल, विश्वज्योति हल, रत्नपार्क, वीर अस्पताल, भोटाहिटीको आकाशेपुल, सामाखुसी र गोगंबु गरी १५ ठाउँहरुमा हात धुने व्यवस्था मिलाएको छ ।

केयुकेएलको ललितपुरस्थित जावलाखेल शाखाले १५ ठाउँहरुमा हात धुने व्यवस्था गर्न लागेको छ । शाखाले जावलाखेल चोक, लगनखेल, पाटन कृष्ण मन्दिर, कुपण्डोल, सानेपा चोक र चापागाउँ लगायतको ठाउँमा हात धुने व्यवस्था गर्न लागेको हो । त्यस्तै भक्तपुरको मध्यपुर ठिमी शाखाले ठिमी चोक, लोकन्थली चोक, शंखधर चोक र गठ्ठाघर चोक गरी पाँच ठाउँहरुमा हात धुने व्यवस्था गरेको छ ।

केयुकेएलको क्षेत्रपाटी शाखाका प्रमुख नृगेन्द्र श्रेष्ठका अनुसार क्षेत्रपाटी चोक, बसन्तपुर दरबार स्वायरभित्र मरु गणेशस्थान, बांगे मुढा, इन्द्र चोक, इन्द्रायणी मन्दिर, कालधारा, ठहिंटी र न्युरोडको भूगोलपार्क गरी १० ठाउँहरुमा हात धुने व्यवस्था गर्न लागिएको छ ।

त्यस्तै बानेश्वर शाखाले हिजोबाट हात धुने व्यवस्था सुरु गरिसकेको छ भने कोटेश्वर, नरेफाँट, अनामनगर, डिल्लीबजार, ज्ञानेश्वर, मध्ये बानेश्वर र सिंहदरबार दक्षिण गेट गरी १० ठाउँहरुमा हात धुने व्यवस्था गर्न लागेको शाखा प्रमुख नारायण कर्णले बताउनुभयो । त्यस्तै भक्तपुर शाखाले पनि ठाउँ ठाउँमा हात धुने व्यवस्था गर्न सुरु गरिसकेको छ ।