नर्भिकमा कोरोना भन्दै हल्ला गर्ने विवेक थापा पक्राउ : भ्रम फैलाउने कसैलाई छाडिन्न – प्रहरी
प्रहरीले काठमाडौंको नर्भिक अस्पतालमा कोभिड–१९ संक्रमित बिरामी रहेको अफवाह फैलाउने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने विवेक थापामगर रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको साइबल ब्यूरोले भक्तपुरस्थित सिपाडोलबाट रामेछाप स्थायी घर भएका २१ वर्षीय विवेकलाई पक्राउ गरेको हो । युवकले काठमाडौंस्थित नर्भिक अस्पतालमा कोभिड–१९ को संक्रमितको मृत्यु भएको र अझै थुप्रै संक्रमित रहेको हुनसक्ने भन्दै त्रासदी फैलाउने अडियो सन्देश रेकर्ड गरी सामाजिक सञ्जालमा साझा गरेको थियो ।
साइबर ब्यूरोले युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले युवकलाई अपरान्ह साढे तीनबजे नियन्त्रणमा सिपाडोलबाट लिएको जनाएको छ ।
प्रहरीले भनेकाे छ –
सामाजिक संजालको दुरुपयोग गर्दै अडियो मेसेज मार्फत राजधानी काठमाडौंको अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिईसकेको भन्ने अफवाह फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा जि. रामेछाप, ठाडादेवी गा.पा घर भई हाल भक्तपुर सिपाडोल बस्ने वर्ष २० का विवेक थापा मगरलाई आज केन्द्रीय साईबर व्युरोले पक्राउ गरेको छ ।
प्रारम्भिक सोधपुछमा निजले आफुले संचालन गरेको पेजमा reach र engagement वृद्धि गर्न सो भ्रम र अफवाह फैलाएको स्विकार गरेका छन् । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
आफूले संचालन गरेको कुनै पनि पेजहरुमा reach र audience वृद्धि गर्न यस किसिमका गतिविधि नगर्न हुन र यस्ता कार्यमा संलग्न रहेको फेला परेमा प्रचलित ऐन कानुन बमोजिम कडा कारबाही हुने व्यहोरा समेत सबैमा जानकारी गराउँदछौं ।