बागमती प्रदेशले गर्याे काेराेना नियन्त्रणमा यस्तो महत्त्वपूर्ण निर्णय

मूलखबर संवाददाता
काठमाडौं, ७ चैत

बागमती प्रदेशकाे आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको प्रदेशस्तरिय कोरोना नियन्त्रण समितिकाे बैठकले महत्त्वपूर्ण  निर्णय गरेको छ ।

प्रदेशका प्रेस रजिस्ट्रार रेवति सापकाेटाले दिनुभएको जानकारीअनुसार बैठकले गरेका निर्णयहरू यसप्रकार छन् –

हेटौडास्थित आपतकालीन केन्द्रमा समितिको सचिवालयको रुपमा विकास गर्ने । त्यसका लागि आवश्यक सामग्री प्रदेश सरकारले तत्काल उपलब्ध गराउने । सचिवालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको प्रतिनिधि रहने । सचिवालयलाई २४ सै घण्टा सञ्चालनमा ल्याउने ।
कोरोनासँग सम्बन्धित सूचना संकलन गर्न फरम्याट बनाएर १३ वटै जिल्ला प्रशासन कार्यालयमा आजै पठाउने ।
सवारी साधनमा आवत जावत गर्नेहरुको हकमा १३ वटै जिल्लामा सुरक्षा निकायले निगरानी राख्ने । विदेशी नागरिक र विदेशबाट फर्केको नेपाली नागरिकको पनि अभिलेख राख्ने ।
जिल्ला सदरमुकाममा बिहान बेलुका माइकिङ गराएर कोरोनाका बारेमा जनचेतना जगाउने ।
सवारी साधन रोकिने ठाउँमा सहायता डेक्स खडा गरी राख्ने ।
बिद्यालय तथा बिश्वबिद्यालय विदा भएपछि काठमाडौ उपत्यकाबाट अन्य जिल्लामा जानेहरुमा हुन सक्ने संक्रमणका बारेमा निगरानी राख्ने ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलिया, मुख्यमन्त्रि तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव तोयम रायसहित,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । प्रदेशस्तरिय कार्यालयका प्रमुख पनि सहभागी थिए ।