गाेेेर्खाकाे माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने, सम्झौतामा भयाे हस्ताक्षर

मूलखबर संवाददाता
काठमाडौं

विकास हाइड्रोपावर कम्पनी प्रा.लि. द्वारा प्रर्वद्धित अप्पर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ ।

सो सम्बन्धमा बिहिबार विकास हाइड्रोपावर कम्पनी र बैंकबीच वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको हो । काठमाडौंको सांग्रिला होटलमा आयोजित सम्झौता समारोहमा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण घिमिरे, निर्देशक सरोज धिताल र सुनिल श्रेष्ठ तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलगायत पदाधिकारीहरुको उपस्थितिमा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार कुल ८१ करोड ६५ लाखको लगानीमा निर्माण हुने आयोजनामा बैंकले ४९ करोड ऋण लगानी गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो आयोजनामा कुनै ‘रिस्क’ नदेखेकोले बैंकले लगानी गरेको बताए । ‘युवा साथीहरुको काम गर्ने उत्साह देखेर खुशी छौं । आयोजना समयमै निर्माण हुने र सबैले लाभ प्राप्त गर्नेमा पनि आशाबादी छौं’, श्रेष्ठले भने । श्रेष्ठले वाणिज्य बैंक सरकारी बैंक भएपनि नीजि बैंकहरुभन्दा पनि अगाडि रहेर शीर्ष स्थानमा रहेको बताउँदै बैंकले जलविधुत आयोजनालाई प्राथमिकतामा राखेर लगानी गरिरहेको बताए ।

कम्पनीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ(एनआरएनए) एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले आयोजना २०७८ मै सक्ने गरि काम तीब्र रुपमा भइरहेको बताउँदै एनआरएनए र स्थानीयको लगानीमा आयोजना बनिरहेको बताए । उनले आयोजनामा लागनीका लागि राष्ट्रिय वाणिज्य बैंकलाई धन्यबाद दिदैं आयोजनामा स्थानीयकाे पूर्ण सहयोग र समर्थन रहेकाले कम खर्चमा उत्कृष्ट आयोजना बन्ने बताए । उनले आयोजनाको लाइन धादिङको बसेरीमा जोडन लागिएको बताए ।

गैरआवासीय नेपाली (एनआरएन) सहितको लगानीमा गोरखामा ४ दशमलव ५५ मेगावाटको हाइड्रोपावर निर्माण शुरु भइसकेको छ । गोरखाको धार्चे गाउँपालिको माछाखोलामा अप्पर माछाखोला जलविद्युत आयोजनाका लागि काम भइरहेकोे न्यौपानेले बताए । लाप्राक र सिङ्लाको बीच भाग भएर बग्ने धार्चे ५ को माछाखोलाबाट विकास हाइड्रोपावर कम्पनीले ४ दशमलव ५५ मेगावाटको जलविद्युत उत्पादनका लागि माछाखोलामा निर्माणको काम अघि बढिसकेको न्यौपानेले बताए ।

निर्माणका लागि आबश्यक सबै प्रक्रिया सकी लाइसेन्स लिइसकेको र बाँध निर्माणका लागि जग्गा खरिद गरिसकेको र सबै ठेक्काको काम सकिसकेको न्यौपानेले बताए । न्यौपानेले बैंकिंग एग्रिमेन्टको काम पनि सकिएको, आयोजनालाई चाहिने सम्पुर्ण मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको र ट्रान्समिसन लाईन र बिधुत प्रशारण लाईनको सम्झौतासमेत सकिएर निर्माण कार्य शुरू भैरहेको बताए ।

‘हामी झोलामा खोला हालेर हिड्दैनौं । काम धमाधम भइरहेको छ निर्धारित समयभन्दा छिट्टो प्रोजेक्ट सक्छौ ।’ बाँधस्थलबाट तीन किलोमिटर पानी ल्याउने र २१० मिटर उचाइबाट पानी खसालेर विधुत उत्पादन गर्ने न्यौपानेले बताए । न्यौपानेले आफुहरुले पिपिए गर्दा दुई बर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि त्यो भन्दा छिटो निर्माण सम्पन्न हुने दाबी गरे ।

आयोजनाबाट उत्पादित विधुत नेपाल विधुत प्राधिकरणले खरीद गर्ने गरी विधुत खरीद सम्झौता(पिपिए) सम्पन्न भइसकेको समेत अध्यक्ष न्यौपानेले जानकारी दिए । आयोजनासँग प्रधिकरणले हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्षामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने गरि गत कात्तिकमा नै पिपिए भएको हो ।

आयोजनाको लागत ८१ करोड ६५ लाख रहेको छ । जसमध्ये ६० प्रतिशत लगानी बैंकले गरेको र बाँकी ४० प्रतिशत लगानी स्थानीय लगानीकर्ता र संचालक समितिले गर्ने भएका छन् ।

विकास हाइड्रोपावरमा एनआरएनएन एशिया प्याशिफिक सहसंयोजक अध्यक्ष खगेन्द्र न्यौपानेसँगै नेपाल बिज्ञापन संघका सचिब कृष्ण घिमिरे, सरोज धिताल, सुनिलबाबु श्रेष्ठ र इन्द्र ढकाल सञ्चालक समितिमा रहेका छन् । विकास हाइड्रोपावर कम्पनीले नै ४ दशमलव ५५ मेगावाटको अप्पर माछाखोला जलविधुत आयोजनासंगै अन्य जलविधुत आयोजना निर्माणको पनि प्रक्रिया शुरु गरेको छ ।

विकास हाइड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक एंव स्थानीय घिमिरेले कम्पनीले सञ्चालन गर्ने आयोजनाहरूमा स्थानीय जनताको नै अधिकतम सहभागिता र स्थानीयकै धेरै शेयर लगानी रहेको बताए । सञ्चालक घिमिरेले स्थानीयसँगको सहकार्यबाटै कम्पनीले निर्माण गर्न लागेको अप्पर माछा खोला हाईड्रोपावर आयोजना समयमै सम्पन्न गर्ने समेत बताए । घिमिरेले विकास हाइड्रोका लगानीकर्ता गोर्खाली नै भएकाले काम गर्न सजिलो भएको र कम्पनीले स्थानीयसँग सहकार्य गर्दै अगाडि बढने प्रतिबद्धतासमेत व्यक्त गरे ।