प्रदेश प्रमूखले भेटे प्रचण्ड, मुख्यमन्त्रीले उपप्रधानमन्त्री पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका मुख्यमन्त्रीहरूले भेटवार्ता गरेका छन्। मुख्यमन्त्रीहरूले प्रचण्डसँग प्रदेशमा भएका समस्याहरूबारे जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ।
जवाफमा प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरूका बारेमा पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताएको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निमन्त्रणमा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका छन्। कोरोना भाइरसको प्रभाव फैलन नदिन प्रदेश सरकारसँग समन्वय गरी एकीकृत कार्ययोजना बनाउनको लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाइएको हो।
‘कोरोनाको भाइरसको संक्रमण फैलिन कसरी सतर्कता अपनाउने भन्नेबारे छलफल गर्न मुख्यमन्त्रीज्यूहरू काठमाडौँ आउनुभएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँहरूले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गर्नुहुनेछ।’
मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम नरहेको थापाले थाहाखबरलाई जानकारी दिए। सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति नै गठन गरी सकेको छ।
काठमाडौं आएका मुख्यमन्त्रीहरूले उपप्रधानमन्त्री पोखरेलसँग सिंहदरबारमा छलफल गर्नेछन्। उपप्रधानमन्त्री र मुख्यमन्त्रीहरूको बैठक दिउँसो १ बजेबाट बस्नेछ। उक्त बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिन नदिन हालसम्म गरेका कामहरूको प्रगति विवरण पनि पेस गर्नेछन्। मुख्यमन्त्रीहरूले उपप्रधानमन्त्री पोखरेललाई प्रदेश सरकारले कोरोनाको संक्रमण फैलिन नदिन गरेका पूर्वतयारीको बारेमा जानकारी गराउनेछन्।