कोरोना संक्रमण देखिएमा पकेट एरिया लक डाउन गरिने (६ जना आइसोलेसनमा)

मूलखबर संवाददाता
काठमाडौं

देशको कुनै क्षेत्रमा कोरोना भाइरस ९कोभिड –१९० को संक्रमण देखिएमा सरकारले पकेट एरिया ‘लक डाउन’ गर्ने बताएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेक बन्द गर्ने र पकेट एरिया लक डाउने गर्ने योजना सरकारले बनाएको बताउनुभयो । निश्चित समूदाय, वस्ती, बासस्थान गाउँ टोल, वडा, पालिका जिल्ला र प्रदेशसमेतलाई पकेट एरिया घोषणा गर्न सकिने सरकारले जनाएको छ ।

यसैगरी महामारी अवधिभरी अत्यावश्यक सामग्रीबाहेक अन्य वस्तुको आयात निर्यात पनि बन्द गर्ने र स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाका बन्द गर्ने योजना सरकारले बनाएको छ । उहाँले भन्नुभयो, ‘अत्यावश्यक बाहेक अन्य सामग्री आयात बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डउने गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ । आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्ने गरी सहकार्य भइरहेको छ ।’ कोरोना संक्रमण विकसित भएअनुसारको व्यवस्थापन गर्ने गरी सरकारले तयारी गरेको पनि उहाँले बताउनुभयो ।

देशका विभिन्न ४३ वटा सीमा नाकामा स्वास्थ्यकर्मीहरुसहितको टोली परिचालन गरिएको छ । स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गरेको छ । प्रवक्ता देवकोटाका अनुसार नेपालमा अहिलेसम्म साढे ४ सयको परीक्षण गरिएकोमा एकजनामा बाहेक कुनैमा संक्रमण नदेखिएको बताउनुभयो ।

संक्रमित देशबाट आउनेहरुले कोरोना फ्रि सर्टिफिकेट अनिवार्य ल्याउनुपर्ने, नेपालीहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने उहाँले बताउनुभयो । उहाँले टेकु अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा रहेको बताउनुभयो ।