संसद छिर्यो शेयर : सिमित पूँजीपतिहरुको मात्रै कारोबार गर्ने थलो होइन- अर्थमन्त्री

मूलखबर संवाददाता
काठमाडौं, २९ फागुन

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पूँजी बजार पूँजीपतिहरुले कारोबार गर्ने थलो मात्र नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ माथिको छलफलका क्रममा उहाँले शेयर बजारमा सानो पूँजीलाई समेत स्थान दिइएकोले सिमित पूँजीपतिहरुको मात्रै कारोबार गर्ने थलोको रुपमा नबुझ्न आग्रह गर्नुभएको हो । उहाँले नेपालको धितोपत्र बजारमा १५१६ लाख भन्दा बढीको सहभागिता रहेको र सानो पूँजीबाट समेत शेयर खरिद गर्न सकिने व्यवस्था गरिएकाले पूँजीबजार सबैको भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सानो सानो पूँजी लिएर केही हजारको पूँजी पनि बैंकमा निक्षेप राख्ने कि रु शेयर बजारमा शेयर किन्ने कि रु सानो व्यवसाय केही गर्ने कि रु भन्ने छनौट गर्ने एउटा आधार पाउनुभएको छ पूँजी बजार । आफैले ठूलो जोखिम लिन नसक्ने उद्योग नै खोल्न नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागि हुन्छुु भन्न चाहने साना मझौला बचतकर्ताको लागि पनि पूँजी बजार एउटा उपयुक्त माध्यम हुन्छ । त्यो भएर म्युचुअल फण्ड जस्ता अवधारणाहरु पनि यहाँ ल्याइन्छ ।

त्यसै गरी थोरै शेयर हाल्न चाहनेहरुको लागि पनि शेयर सुनिश्चित गरिदिने व्यवस्था पनि यहि धितोपत्र ऐन र यसको नियमावलीले व्यवस्थित गरेको हुन्छ र त्यसैको आधारबाट अव नेपालीहरु थोरै पूँजी भएपनि कुनै न कनुै रुपमा कुनैपनि सम्पत्तिको मालिक बन्न सकुन । जमिन होला अथवा अरु किसिमको उद्योग कारखानामा पूँजी होला र शेयर बजारमा पनि सहभागिता भयो भने त्यसले अलिकति आफ्नो पूँजी निर्माणमा पनि सहयोग गर्छ भन्ने हिसाबले पनि ल्याउन खोजिएको छ यो विधेयक ।

यसमा भएको व्यवस्था अनुसार सामान्य भन्दा समान्य व्यक्तिलाई पनि शेयर बाजरमा पहुँच पु¥याउनको लागि गर्नुपर्ने कुराहरु सरकारले गरिराखेकै छ । केही समय अगाडि देखि केही जलविद्युत आयोजनामा हजारौंको संख्यामा शेयर सहभागिता हुँदै आएको छ । एकदमै आय स्तर कम भएका व्यक्तिहरुले पनि शेयर किन्न सक्ने व्यवस्था गरिएको छ कुनै न कुनै रुपमा । लघुवित्त संस्थाहरुबाट ऋण लिएर भएपनि शेयर किन्न सक्ने व्यवस्था सम्म पनि गरिएको छ । त्यसैले यसलाई अब सिमित वर्गहरुको पूँजीपतिहरुको मात्रै पूँजी कारोबार गर्ने अवस्था हो भन्नुपर्छ भन्ने मालाई लाग्दैन् ।’

उहाँले प्रस्तावित विधेयक पूँजी बजारको नियमनका लागि नियामक निकायलाई थप स्वायत्त र बलियो बनाउने गरी ल्याइएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो ‘नियमनलाई बजारको सिद्धान्त अुनुसार धितोपत्र बजारलाई प्रतिस्प्रधात्मक पारदर्शि र कानूनसम्बत तुल्याउँदै लैजान नियमनकारी निकायको भूमिकालाई बलियो बनाउन, स्वायत्त संस्थाको रुपमा विकास गर्न र यो नियमनकारी निकाय आफैलाई जवाफदेही बनाउन र यसको क्षमता विकास गर्नको लागि नै यो विधेयक प्रस्तुत भएको छ । मुलतः यसको उद्येश्य नियमनलाई प्रभावकारी बनाउने हो संपूर्ण प्रणालीलाई नियन्त्रण गर्ने होइन व्यवस्थित मात्रै गर्ने हो ।’

मन्त्री खतिवडाले कम्पनीको वित्तीय अवस्था, भावि आंकलन र सरकारका नीतिहरु हेरेर शेयरमा कारोबार गर्नुपर्ने बताउनुभयो । कोरोना भाइरसका कारण पनि शेयर बाजरमा उथलपुथल देखिएको उल्लेख गर्दे उहाँले अल्पकालिन प्रवृतिबाट जोगिएर शेयर कारोबार गर्नुपर्ने बताउनुभयो । उहाँले अल्पकालिन प्रवृतिकै आधारलाई हेरेर दिर्घकालिन सोच बनाउन नहुने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो ‘जुन कम्पनीको शेयरमा कारोबार गर्ने हो त्यो कम्पनीको वित्तीय अवस्था र त्यो कम्पनीको भावि वित्तीय अवस्था कस्तो हुन्छ भनेर शेयर खरिद गर्ने हो । सरकारले कस्तो नीति बनाउँछ र कस्तो नियम र तिनको कार्यान्वयन कस्तो हुन्छ भनेर शेयरको कारोबार गर्ने हो । त्यसमा व्यक्ति विशेष जो आएपनि गएपनि शेयर बजार प्रभावित हुनुपर्दैन् । विधि र नीति तथा व्यवसायिक सम्भावनाको आधारबाट शेयरको मूल्य र कारोबार बढ्ने घट्ने स्थिति रहन्छ । अहिले विश्व परिवेशमा केहि अनिश्चितता कोरोना भाइरसको पनि कारणले आएको कारणले शेयर बजारमा केही उथलपुथल देखिएको छ । तर अलपकालिन यस्तो प्रवृतिकै आधारलाई हेरेर दिर्घकालिन सोच बनाउन पनि उपयुक्त होला जस्तो मलाई लाग्दैन् ।’

विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद दिव्यमणि राजभण्डारीले विधेयकमा दलाल भन्ने शब्द प्रयोग गर्नुभन्दा ‘धितोपत्र खरिद विक्री गर्ने व्यवसायी’ राख्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ठाउँठाउँमा दलाल दलाल भन्ने शब्दहरु प्रयोग भएको देखिन्छ, वस्तुगत कुरामा अहिले यो शब्द प्रयोग गर्ने काम कम हुँदै गयो संसारभर भएको कारणले गर्दाखेरी दलालको सट्टा धितोपत्र खरिदविक्री गर्ने व्यवसायी भनेर नाम राख्दाखेरि बेस हुन्छ की रु’

उहाँले कारोबार गर्ने कम्पनीहरुका लागि रिन्यु गर्ने समय बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘कारोबार गर्ने कम्पनीहरुको निम्ती रिन्यु गर्ने समयको निम्ती धेरै कम समय भएको हुनाले यो समय बढाओस ।’

सांसद राजेन्द्रकुमार केसीले पूँजी परिचालन गर्ने अस्त्रको रुपमा शेयर बजारलाई लिइने भएकाले यसको सुरक्षका लागि थप व्यवस्था लैजानुपर्ने बताउनुभयो । नियमक निकायलाई ट्याक्स लगाउन हुन्न भन्ने विश्वव्यापी मान्यता अनुसार ट्याक्स नलगाउन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले केही समय अर्थमन्त्रीको छायाँसँग पनि शेयर व्यवसायीहरु डराएको र त्यसको प्रभाव शेयरबजारमा देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले केही समय अर्थमन्त्री ज्यूको छायाँसँगपनि शेयर व्यवसायीहरु डराइराखेको अवस्था छ । मलाई लाग्दैन अर्थमन्त्री ज्यू खुला अर्थनीति र खुला अर्थतन्त्रको विरोधी हुनुहुन्छ । तर के कारणले हो थाहा छैन अर्थमन्त्रीको बर्हिगमन हुँदै छ भनेपछि ह्वात्तै शेयर बजार बढ्ने र अर्थमन्त्री फेरी आउनेवित्तीकै अस्तिमात्रै १६ सय बाट १३ सयमा घटेको अवस्था छ । त्यसैले अर्थमन्त्रीज्यूलाई स्वतन्त्र किसिमले हामीले पुरै पूँजी परिचालन गर्नुपर्ने लगानीलाई प्रोत्साहन गर्ने हो यसमा एकपटक आर्थमन्त्रीले नेपाली पूँजी बजारमा आएको अव्यवस्थित कारणमा बोल्नुपर्ने देख्छु । यसलाई यहिनै हुनुपर्छ भन्दा पनि अर्थमन्त्रीको छायाँसँग अहिले शेयर डराइराखेको छ यो यथार्थ हो ।’

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकशित मुलुकमा पूँजीको सहि परिचालन भएर मात्रै विकास सम्भव भएको दृष्टान्त दिदै पूँजी बजारको विकास गर्ने महत्वपूर्ण निकायलाई पनि नियन्त्रण गर्ने किसिमले विधेयक आएकाले संशोधन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पूँजी बजार विकासका निमित्त यो नियमन गर्ने निकायको रुपमा जुन धितोपत्र वोर्ड छ यसको धेरै लामो इतिहास नभएपनि यसलाई समाय अनुकुल बनाएर सबैलाई पूँजी परिचालन गर्ने दिशामा अग्रसर गर्ने बाटोमा यो विधेयक अगाडि बढ्नुपर्छ र त्यसका निमित्त केही कुराहरुको परिमार्जन गर्न जरुरी छ ।’

सांसद रामकुमारी झाँक्रीले बजारमा भएका नकारात्मक खेलहरुलाई नियन्त्रण गर्ने निकायका रुपमा धितोपत्र वोर्ड नै भएकाले यसलाई बलियो बनाउनुपर्ने बताउनुभयो । पूँजीबादी दुनियाँमा बजार अर्थतन्त्रलाई स्वीकार गर्दा पूँजी निर्माणको महत्वपूर्ण अधार शेयरबजारलाई व्यवस्थित गर्नुपर्ने उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो ‘धितापत्र बजारमा इक्विटी मार्केटको मात्रै कुरा भएको र बजार विस्तार गर्नेहो भने अरु क्षेत्रमा पनि प्रवेश गर्नुपर्छ । धितोपत्र बोर्डलाई आज भएको संरचना भन्दा अलिकती संस्थागत पक्ष पनि बलियो हुने खालको र संरचनागत विकास गरेर अलिकति प्रोफेसनल र भोली यो क्षेत्रमा आउने अनलाइन ट्रेडिङ देखि फुल अटोमेसनमा जाने बेलासम्म यहाँ हुने इन्साइडर ट्रेडिङलगायतका गतिविधिलाई रोक्नको लागि सक्षमहुने संरचना र त्यसका लागि आवश्यक कानून बनाउनेगरी नै धितोपत्र बोर्डलाई लैजानुपर्छ ।’

सांसद शेरबहादुर तामाङले निश्कृय रहेको पूँजी बजारमा ल्याउनका लागि शेयर बजारले सहयोग गर्ने बताउनुभयो । त्यसैगरी सांसद गजेन्द्रबहादुर महतले जनतासँग निश्कृय भएर बसेको पैसा नयाँ उद्योग कलकारखाना स्थापना गर्न प्रयोग हुनुपर्नेमा शेयर कारोबारमा मात्र सिमित भएको बताउनुभयो ।