
पुर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट, विप्लव समुहको पर्चा भेटियो
भक्तपुर, २८ फागुन ।
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीमा रहेको निजी निवासमा बम विष्फोट भएको छ । अज्ञात समुहले सिलिन्डर बम बिस्फोट गराएको प्रहरीले बताएपनि घटनास्थलमा प्रतिवन्धीत विप्लव समुहको पर्चा भेटिएकाले उसैले विष्फोट गराएको हुन सक्ने देखिएको छ ।
पूर्व मन्त्री बाँस्कोटाका तत्कालीन स्वकीय सचिव सुरेशप्रसाद हुमागाइँले पूर्व मन्त्री बाँस्कोटाको घरमा बिष्फोट भएको प्रारम्भिक जानकारी दिनुभयो । विष्फोटबाट उहाँको घरको सिसाहरु फुटेका छन् । विस्फोटबाट छिमेकीको घरहरुमा समेत क्षति भएको बताइएको छ । विस्फोट स्थलमा सर्वसाधारणको भीड लागेको छ । विस्फोट कसले गराएको हो खुलिसकेको छैन ।
सेक्युरिटी प्रिन्टर खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिएका थिए। कमिशनस्वरुप आउने ७० करोडमध्ये करिब ५५ करोड रुपैयाँ मिश्रसँग बार्गेनिङ गरिरहेको अडियो बाहिरिएसँगै बाँस्कोटाले पदबाट राजिनामा दिनुपरेको थियो।
महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले अज्ञात समुहले बिष्फोट गरेको बताउनुभयो । केही दिनदेखि हामीले २४ घण्टानै प्रहरीले सुरक्षा गरिरहेकोमा बिहान उहाँको घरको पछाडीपट्टि बिष्फोट भएको बताउनुभयो ।
‘बिष्फोटबाट पूर्व मन्त्री ज्यूको घरको गेटमा सामान्य क्षती भएको र छिमेकीहरुको घरको सिसा फुटेको छ’ गिरीले भन्नुभयो ।
