लमजुङको लिवर्टि हाइड्रोपावरले खाेल्याे अाइपिअाे शेयर

मूलखबर संवाददाता
काठमाडौं

लिवर्टी इनर्जी कम्पनी लिमिटेडकाे २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले स्थानीयका लागि छुट्याएको सेयर आवेदन आज (मंगलबार) बाट खुल्ला गरेको हो । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले स्थानीयका लागि सेयर आवेदन खुल्ला गरेको छ

प्रतिकित्ता सय रुपैयाँ अंकित १५ करोड रुपैयाँ मूल्य बराबरको १५ लाख कित्ता सेयर निष्कासन गरिएकाे कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार निष्कासन भएको सेयरमध्ये ५ लाख कित्ता (३३.३३ प्रतिशत) अति प्रभावित दोर्दी गाँउपालिकाको वडा नम्बर ६ र ७ का स्थानीयका लागि छुट्याइएको छ ।

५ लाख कित्ता (३३.३३ प्रतिशत) दोर्दी गाँउपालिकाका बाँकी वडा र बेंशिसहर नगरपालिकाको वडा नम्बर ११ का स्थानीय र बाँकी (३३.३३ प्रतिशत) ५ लाख कित्ता जिल्लाबासीका लागि छुट्याइएको छ ।

आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले छिटोमा चैत्र ११ र ढिलोमा चैत्र २६ गतेसम्म आवेदन दिनुपर्नेछ । स्थानीयले न्युनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइबीएल क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

पहिलो चरणमा स्थानीयलाई सेयर निष्कासन गरेर बाँडफाँड गर्ने प्रक्रिया पूरा भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजना ९६ प्रतिशत पूरा भएको छ । आयोजनाबाट आगामी चैत्रदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । बाँध र विद्युतगृहको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाले उत्पादन गर्ने विद्युत विद्युतगृह नजिकै निर्माण भएको १३२ केभी किर्तीपुर  सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न हुँदा ४ अर्ब ६३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।