
के कोरोनाका कारण नेपालमा नाकाबन्दी हुन सक्छ ?
विश्वभरी सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी हुने आशंका व्यक्त गर्न थालिएको छ ।
चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशंका गर्न थालिएको हो । नेपाल चेम्बर अफ कमर्समा भएको एक कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ३०, ४० जना व्यक्तिमा मात्रै कोरोनाको संक्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो । ‘भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायि छ । ३०, ४० जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएमा त्यो भन्दा ठूलो पीडा हुन सक्छ’, उहाँले भन्नुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. राजेश कुमार शाहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु पर्ने बताउनुभएको छ । उहाँले जथाभावि भिडभाडमा नजान र जानै परे मास्क लगाएर जान आग्रह गर्नुभयो । ६० वर्षभन्दा माथिका नागरिक, डाइबिटीज, मुटु सम्बन्धि समस्या र दमका रोगीहरुलाई संक्रमणको दर बढी देखिएको उल्लेख गर्दै उहाँले समयसमयमा साबुनपानीले हात धुन आग्रह गर्नुभयो ।
पहिलो पटक कोरोनाको आशंकामा ट्रपिकल सेन्टरमा भर्ना भएका एकजनामा बाहेक यसको संक्रमण देखिएको छैन् । संक्रमण देखिएका व्यक्तिपनि उपचार पछि घर फर्किसकेका छन् । यद्यपी कोरोनाको आशंकामा परिक्षणका लागि अस्पताल पुग्नेहरुको संख्या भने बढीरहेको छ ।
