कांग्रेस विवाद : पार्टीले राखेको भेला प्रशिक्षण पौडेल पक्षले बहिस्कार गर्ने

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले आगामि चैतमा अयोजना गर्न लागेको क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रमको बहिष्कार गर्ने भएको छ ।

कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बसेको पौडेल पक्षको भेलाले १४ औं महाधिवेशन प्रभावित गर्नेगरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो । भेलामा सहभागि नेता प्रकाशमान सिंहले म्याद थपेर सहमतिमा महाधिवेशन कार्यतालिका प्रकाशित गर्न सफल भएको अवस्थामा फेरी महाधिवेशनलाई प्रभावित पार्न प्रशिक्षण कार्यक्रम गर्न लागिएकोले बहिष्कार गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बल्लतल्ल सहमतिको आधारमा केन्द्रीय महाधिवेशनको कार्यतालिका हामीले प्रकाशित गर्न सफल भएका छौं र केन्द्रीय महाधिवेसन अव थप गरेको समयमा पनि फेरी हुने गरीकन अव हाम्रो ध्यान समग्ररुपमा के मा केन्द्रीत हुन प¥यो त भन्दा खेरी १४ औं महाधिवेशनलाई १ वर्षको म्याद थपिसकेपछि त्यो थपेको समयभित्र नै केन्द्रीय महाधिवेसन निस्पक्ष तवरले शान्तिपूर्ण, धाँधलीरहित तवरले एउटा लोकतान्त्रीक पार्टी भित्र एउटा स्वच्छ लोकतान्त्रीक अभ्यास मार्फत यो महाधिवेसन सम्पन्न गराउन पर्छ भन्ने कारणले गर्दा खेरीपनि आजको यो बैठकबाट के निचोड आयो भने यो केन्द्रीय महाधिवेशनलाई प्रभावित गर्ने खालको कार्यक्रम भएको कारणले गर्दाखेरी त्यसको बहिस्कार गर्ने भन्ने कुरा भएको छ । ’

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आगामि चैतमा पार्टी क्रियाशील सदस्यहरुलाई प्रशिक्षण दिने समय तोकेपछि पौडेल पक्ष असन्तुष्ट भएको हो । कांग्रेसले ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट १० हजार क्रियाशील सदस्यलाई प्रशिक्षक प्रशिक्षण दिने तयारी गरेको हो । तर असन्तुष्ट पौडेल पक्षले भने केन्द्रीय महाधिवेशन नगराउने चलखेल भएको भन्दै बहिस्कार गर्ने निर्णय गरेको हो ।

भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल सहित महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी र असन्तुष्ट केन्द्रीय सदस्यहरु तथा काठमाडौंमा उपलब्ध भएका जिल्ला सभापतिहरु र उपसभापतिहरुको सहभागिता रहेको थियो ।