रामेछापबाट काठमाडौं आउँदै गरेको बस काभ्रेमा दुर्घटना : ४४ घाइते, ६ गम्भीर

मूलखबर संवाददाता
काठमाडौं

रामेछापबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस काभ्रेमा दुर्घटनाग्रस्त हुँदा ४४ जना यात्रु घाइते भएका छन् । काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका ५ स्थित ढाँटखर्कमा बस दुर्घटना हुँदा ४४ जना घाइते भएका हुन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

रामेछापको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस ब्याक गर्ने क्रममा सडकदेखि २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार विपरित दिशाबाट आएको गाडीलाई साइड दिनका लागि ब्याक गर्नेक्रममा बुधबार बिहान करिब १० बजेको समयमा बस दुर्घटनामा परेको हो ।

घाइते सबैको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले जानकारी दिए ।  दुर्घटना पश्चात फरार रहेका बसका चालक अहिले टेलिफोन सम्पर्कमा आइसकेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक झाले बताए ।

पहाडि क्षेत्रमा रहेका कच्ची सडक र भिराले भुगोलका कारण बस दुर्घटना हुने गरेका छन् जसले गर्दा धेरै मानपवय र धन जनको क्षती हुने गरेको छ ।