कोरोना प्रभावित मुलुक जान नो अब्जेक्सन लेटर नदिने निर्णय

मूलखबर संवाददाता
काठमाडौं

सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावित देशहरुमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नदिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९  अतिप्रभावित देशहरुमा उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीलाई तत्कालका लागि रोक लगाउने निर्णय गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताउनुभयो ।

सरकारले चीन, दक्षिण कोरिया, जापान, हङकङलगायतका अतिप्रभावित मुलुकमा पढ्न जाने विद्यार्थीमाथि रोक लगाएको हो।

कोभिड–१९ को संक्रमणको अवस्था हेरेर प्रतिबन्ध फुकुवा र थप देशमा रोक लगाउने निर्णय गरिने मन्त्री पोखरेलले जानकारी दिनुभयो। रोक लगाउने र फुकुवा गर्ने निर्णय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ ले गर्ने पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो ।