
पार्टी जिवन सोचेजस्तो शान्त र भद्र हुँदैन, ढुक्क हुनुस् फुट्न दिइदैन : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीजिवन सोचेजस्तो शान्त र भद्र नहुने बताउँदै पार्टीभित्र आउने समस्याहरु आपसि छलफल र विधिद्वारा नै हल हुने बताउनुभएको छ ।
नेकपा बागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेला र अभियानका सन्दर्भमा आयोजित कार्यक्रमलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने उल्लेख गर्नुभयो । उहाँले पार्टीभित्र विवाद र समस्या आइरहने बताउँदै मिडियामा आएका सबै कुरामा भ्रमित नहुन पनि कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रचण्डले भन्नुभयो– जीवित पार्टीमा विवाद हुनु सामान्य हो, कम्युनिष्ट आन्दोलन साम्यवादमा नपुग्दासम्म विवाद, संघर्ष, भूमरी परिराख्छ, र ठक्कर खाने भइरहन्छ। त्यसलाई सबैले स्वीकार्नुपर्छ । पार्टीमा विवाद र भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताउँदै त्यसकै कारण पार्टी विभाजन र विघटन नहुने विश्वास कार्यकर्तालाई दिलाउनुभयो ।
उहाँले अहिलेको आवश्यकता अनुसार देशको नेतृत्व गर्ने पार्टीको रूपमा विकास गर्न पनि विवाद, संघर्ष, भूमरी र ठक्कर खाने भइराख्ने भएकाले त्यसलाई सबैले स्वीकार्दै एक ढिक्का भएर समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
प्रचण्डले अगाडि थप्नुभयो, ‘अब कम्युनिष्ट पार्टी भनेको कुनै जमेको पोखरी जस्तो होइन, मलाई लाग्छ कमरेडहरुले यो कुरा पनि बुझ्नु भएको होला कम्युनिष्ट पार्टीको परिभाषा गर्दा यो द्वन्द्वात्मक भौतिकवादी यसले संघर्षमा विश्वास गर्ने, बहसमा विश्वास गर्ने भएको हुनाले यो कम्युनिष्ट पार्टी एउटा गडगडाउने खोला जस्तो यो कहियौँ ठक्कर खाँदै भत्काउँदै फेरि भूमरी पर्दै फेरि अगाडि बढ्दै महासागरतिर लम्कने साम्यवादतिर लम्कने पार्टी हो, कम्युनिष्ट पार्टी ।’ ‘हामी कतिपयलाई लाग्छ यो शान्त भइदिए हुन्थ्यो यो शिष्ट भइदिए हुन्थ्यो नेता कार्यकर्ताको बीचमा अनावस्यक बहस र विवाद नभइदिए हुन्थ्यो खुरुक्क मिलेर सबै एकमुख भएर हिडिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ। हुनत त्यस्तै होस भन्ने हाम्रो चाहना हो। हामी त्यसैको निम्ति कोसिस गर्ने हो सबै एकताबद्ध हुन कोसिस गर्ने हो तर जुन दिन यो साँच्चै शान्त साँच्चै एकजुट साँच्चै विवादरहित साँच्चै त्यस्तो भयो त्यो दिन देखि त्यो पार्टी चाहिँदैन्।’ प्रचण्डले थप्नुभयो ‘वास्तवमा माक्र्सले, माक्र्सदेखि सबै नेताहरुले भनेको कुरा के हो भने जुन दिन त्यस्तो स्थिति आउँछ विवाद रहित बन्ने दिन आउँछ त्यो दिन भनेको साम्यवाद हो साम्यवादमा कम्युनिष्ट पार्टी रहदैन चाहिंदैन कुनैपनि पार्टी चाहिँदैन्।’
प्रचण्डले कम्युनिष्ट पार्टी र सत्ता अरुको कारणले नभई आफ्नै कमजोरी र आन्तरिक कारणले ढल्ने गरेको बताउनुभयो । दुश्मनका गोलीले लडाउन नसेको कम्युनिष्ट सत्तामा गएपछि कुशासन र भ्रष्टाचारका कारण आफै सकिने गरेकोले सचेत हुनुपर्ने प्रचण्डको तर्क थियो । उहाँले पार्टी मूलभूतरूपमा विचार राजनीति र कार्यक्रम भएको र अर्कोतर्फ विधि र पद्धति भएकाले विचार, विधि र नेतृत्वको संयोजनबाट पार्टी चल्ने स्पष्ट पार्नुभयो। उहाँले विचार र विधिको एकरूपताबाट नै पार्टीको जीवन र गति निर्धारण हुने बताउनुभयो ।
नेताहरुको नाम नलिइकन प्रचण्डले जसले विधि र विधानको पालना गर्न सक्दैन उसले नेतृत्व पनि नसक्ने बताउनुभयो । प्रचण्डले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकलाई प्रेरणा र उत्साहको श्रोत बनाउन पनि सबै कार्यकर्तालाई आग्रह गर्नुभयो ।
