खानेपानी संस्थानलाई अब्बल र व्यवसायीक बनाउन मन्त्री मगरकाे निर्देशन

मूलखबर संवाददाता
काठमाडौं, १५ फागुन

नी मन्त्री बिना मगरले खानेपानी संस्थानलाई व्यावसायिक ढंगले सुदृढ बनाई नयाँ योजनाहरुका साथ अघि बढ्न व्यवस्थापन पक्षलाई निर्देशन दिनुभएको छ ।

नेपाल खानेपानी संस्थानको ३१ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री मगरले  संस्थानको गरिमालाई अझ उचाईमा पुर्याउन नयाँ कार्ययोजनासहित अघि बढ्न निर्देशन दिनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘संस्थानको आवश्यकता अहिले हरेक जिल्ला र स्थानीय तहमा परिरहेको छ । एउटै गति र एकरुपतामा काम अघि बढाउनुस् । यो संस्थाको उचाई अझ बढाउनुस् ।’ ‘बजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी आफ्नो आयस्रोत र क्षमता बढाउनुस’, निर्देशन दिँदै मन्त्री मगरले भन्नुभयो, ‘कुनै समय अब्बल रहेको संस्थानलाई अब नोक्सान नहुने गरी काम अघि बढाउनुस् । सरकार यो संस्थालाई सहयोग गर्न पूर्ण प्रतिबद्ध छ ।’ संस्थानले नयाँ कार्यक्रमहरु ल्याई आफ्नो भूमिकालाई बजारमा प्रभाव पार्ने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले खानेपानी संस्थानको महत्व कहिल्यै नघटेको बरु यसको आवश्यकता बढेको बताउनुभयो । ‘संस्थानका चुनौतिहरु धेरै छन् । यी चुनौतिहरुसँग सामना गर्दै अघि बढ्नुपर्ने बेला आएको छ ।’ सचिव बेल्बासेले भन्नुभयो, ‘संस्थानले सानातिना आयोजनामा मात्रै ध्यान केन्द्रित नगरी थोक वितरण प्रणालीमा आधारित ठूलठूला खानेपानी आयोजनाहरुको अध्ययन गरी अघि बढ्नुपर्ने समय आएको छ । त्यसका लागि निजी वा विदेशी लगानी ल्याउने गरी काम गर्नुपर्ने हुनसक्छ ।  उहाँले नेपालको मिनरल, स्प्रीङ र ग्लेसियर वाटरलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी अध्ययन गर्न समेत संस्थानलाई आग्रह गर्नुभयो ।

संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले खानेपानीको समस्या भएका मुख्य सहरहरु बुटवल, नेपालगञ्ज, पोखरा र विराटनगरमा खानेपानी आपूर्ति गर्नेगरी कामहरु अघि बढेको जानकारी दिनुभयो ।