ट्रम्प अाए लगत्तै भारतमा यसरी भड्कियाे हिंसा, गयाे २४ काे ज्यान
हिंसा भड्किएको तेस्रो दिनदेखि बल्ल दिल्ली प्रहरीले केही ठाउँमा कर्फ्यू लगाउनुका साथै प्रभावित क्षेत्रमा ‘गोली चलाउने’ आदेश दिएको छ। जबकि, सुरूका दुई दिन दंगा क्षेत्रमा दिल्ली प्रहरीको उपस्थिति पातलो र उनीहरूको कारबाही झन्डै झन्डै निस्क्रिय थियो। कतिसम्म भने, एक जना व्यक्ति हातमा रिभल्भर बोकेर प्रहरीकै अगाडि गोली चलाउँदै हिँडेका थिए।
भारतका अन्य राज्यको आ-आफ्नै प्रहरी हुन्छ। प्रहरी परिचालनको जिम्मा राज्यकै गृह मन्त्रालयले सम्हाल्छ। दिल्ली प्रहरीको कमान भने राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालको हातमा छैन। यो सिधै संघीय गृह मन्त्रालय अर्थात् गृहमन्त्री अमीत शाह मातहत छ, जो नागरिकता कानुनका सबभन्दा प्रखर प्रवक्ता हुन्।
सुरूका दुई दिन हिंसाको आगो सल्किँदा पनि गृहमन्त्री मातहतको दिल्ली प्रहरी जसरी निस्क्रिय बस्यो, त्यसले नै २० जनाको ज्यान जाने र ठूलो धनमाल नष्ट हुने गरी हिंसा भड्काउन भूमिका खेलेको भारतीय अनलाइनहरूले लेखेका छन्।
दिल्लीमा हिंसा भड्किन सक्ने छनक आइतबार नै भइसकेको थियो, जब सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता कपिल मिश्रले एउटा ट्वीट गर्दै नागरिकता कानुनविरोधी प्रदर्शन रोक्न प्रहरीलाई तीन दिनको अल्टिमेटम दिए।
दुई महिनाभन्दा बढी समयदेखि जारी नागरिकता कानुनविरोधी आन्दोलन क्रममा शनिबार राति जफराबादमा भएको प्रदर्शनपछि उनले उक्त अल्टिमेटम दिएका थिए। करिब पाँच सय जना सहभागी प्रदर्शनमा अधिकांश महिला थिए।
फेब्रुअरी २३ तारिख आइतबार गरेको ट्वीटमा मिश्रले तीन दिनभित्र नागरिकता कानुनविरोधी प्रदर्शन रोकेर दिल्लीको सडक खाली गराइएन भने त्यसपछि आफूहरू प्रहरी कारबाहीको बाटो हेरेर नबस्ने चेतावनी दिएका थिए।
भाजपा नेताको यस्तो भनाइपछि नै आइतबारबाट नागरिकता कानुनका समर्थक सडकमा ओर्लिएका हुन्। यसले दिल्लीमा जारी आन्दोलन थप चर्काउने काम गर्यो।
‘द इन्डियन एक्सप्रेस’ का अनुसार मिश्रको उक्त चेतावनी सार्वजनिक भएकै रात दिल्लीका विभिन्न ठाउँमा मुसलमानका घर र पसललाई लक्ष्य गरेर ढुंगा हानियो। कतिपय बस्तीमा मुसलमानका घरमाथि आगजानी भए।
यी दृश्यका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा तत्काल भाइरल हुँदा पनि दिल्ली प्रहरीले कुनै सक्रियता देखाएन। घटनास्थलमै रहेका प्रहरीले पनि आगजनी रोक्न कुनै कारबाही नगरेको रायटर्सका संवाददाता देवज्योत घोषलले उल्लेख गरेका छन्। – सेताेपाटीबाट