नेपाली कांग्रेसले गर्यो सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गरी छानबिन गर्न माग

मूलखबर संवाददाता
काठमाडौं, ८ फागुन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरी छानबिन गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा कांग्रेसले सेक्युरेटी प्रेस खरिद प्रकरणमा मन्त्री बास्कोटाले लेनदेनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि कांग्रेसले सरकारसँग यस्तो माग गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार बिहान विज्ञप्ती जारी गरेर बर्खास्त गर्नुपर्ने माग गरिएको उल्लेख गर्दै पत्रकार सम्मेलनमा भन्नुभयो, ‘व्यक्तिगत रुपमा कुनै राजनीतिक आग्रह पूर्वाग्रह छैन् । यो विषयमा कसको संलग्नता थियो भन्ने कुरा खोज्नुपर्ने दायित्व त छ ।’

कांग्रेसले बास्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्ने निकायलाई सहयोग गर्ने दायित्व रहेको बताएको छ । भ्रष्टाचारको कुनै पनि मुद्दामा आग्रह पूर्वाग्रहभन्दा माथि रहेर तथ्यपूर्ण ढंले अनुसन्धान गर्नुपर्छ भन्ने मान्यता कांग्रेसको भएको प्रवक्ता शर्माले बताउनुभयो । उहाँले यो विषयमा सरकारको आधिकारीक जवाफ सार्वजनिक रुपमा आउनुपर्ने र तत्काल एक्सनमा जानुपर्ने माग पनि कांग्रसको रहेको बताउनुभयो ।