वुहानबाट जहाजमा ल्याइयाे १७५ जना नेपाली, खरिपाटीमा १५ दिन राखिने

मूलखबर संवाददाता
काठमाडौं
 कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा ल्याइएको हो ।

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो । र, १७० विद्यार्थीसहित १७५ जनालाई बिहान ३: ३८ बजे त्रिभुवन विमानस्थल ल्याइएको छ ।

आवेदन दिएका एक सय ८५ मध्ये ६ जनाको स्वास्थ्यमा समस्या आएपछि उनीहरु चीनमै रोकिएका छन् भने चार जनाले नेपाल फर्कन अस्वीकार गरेका चीनमा रहेको नेपाली दूतावासले जनाएको छ । एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन्।

चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको हो ।

उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुई पटक तापक्रमसहित अरु स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसक्रममा ६ जनामा उच्च ज्वरो देखिएपछि उतै रोकिएका हुन्। नेपाल आइपुगेका एक सय ७५ जनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेर केही समस्या नदेखिएका व्यक्तिलाई मात्र भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा लगिएको सरकारले जनाएको छ।

उनिहरूलाई अब कम्तीमा १५ दिन क्वारेन्टाइनमा राखिनेछ ।  परिवार र अाफन्तले जति दिन राखेपनि हुने भन्दै स्वदेश फिर्ता गराएकामा सरकारलाई धन्यवाद दिएका छन् ।

तस्बिर : प्रदिपराज वन्त, रासस