राष्ट्रियसभा सदस्य उपाध्यायको निधनले रोकीयो संसदमा प्रधानमन्त्रीको संवोधन

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रिय सभाका सदस्यको निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज सार्वजनिक महत्वको विषयमा संसदमा गर्ने भनिएको सम्बोधन रोकिएको छ ।

राष्ट्रियसभाका बहालवाला सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि निर्धारित कार्यक्रम स्थगित भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सम्बोधन भोलि बिहान ११ बजे बस्ने बैठकमा गर्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

निधनपछि शोक परेकाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित गर्न माग गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो ।

यसअघि प्रतिनिधिसभाको आज दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वका विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत् आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्षमा सरकारले गरेका कामको प्रगति विवरण सार्वजनिक गर्ने तयारी गरेका थिए।

नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको आज बिहान निधन भएको राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डेले जानकारी दिए। उनी क्यान्सरको बिरामी रहेको र आज बिहान भैरहवामा निधन भएको पाण्डेले बताए। उपाध्याय २०४२ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहदैँ आएका थिए। हाल प्रत्योजित तथा आश्वासन समितिको सदस्यसमेत रहेका थिए।

२०५४ सालमा मा गाविस उपाध्यक्षका जिम्मेवारी सम्हालेका उपाध्याय सोही क्षेत्रवाट ३–३ पटक क्षेत्रीय सभापतिसमेत भएका थिए। उपाध्यायका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।