२५ औं जनयुद्ध दिवसमा प्रचण्ड : अरुलाई विश्वास थिएन हामीले राजतन्त्र फालेर देखाइदियौं
नेकपाका अध्यक्ष एवम् गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरुले विश्वास नगरेको जनयुद्ध आफूहरले लडेर सफल बनाएको बताउनुभएको छ ।
२५ औं जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्ध जनतामा आधारीत र मौलिक भएकै ले आफूहरुले सफल बनाएको बताउनुभएको हो ।
मौलिक जनयुद्ध भएकाले शान्तिप्रक्रिया हुँदै, संविधानसभाबाट संविधान जन्माउँदै देश संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढेको प्रचण्डको भनाइ छ ।
कार्यक्रममा प्रचण्डले शान्तिप्रक्रियामा प्रवेश गरेको १४ वर्ष पुरा भएको स्मरण गर्दै जनयुद्ध र जनअन्दोलनका सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुग्दा मौलिक राजनीतिक, मौलिक कम्युनिस्ट नीति निर्माण भएको भनाई राख्नुभयो ।
प्रचण्डले २००७ मा जहाँनिया राणा शासनविरुद्ध आफूलाई प्रजान्तत्रवादी भन्ने राष्ट्रिय कांग्रेसले हतियार उठाएको बताउनुभयो । ‘२००७ सालमा कांग्रेसको सशस्त्र विद्रोहले जनहाँनिया राणा शासन ढल्यो,’ उहाँले भन्नुभयो, ‘पछि २०१७ सालमा पनि कांग्रेसले २००७ कै अभ्यास गर्न खोज्यो तर, सकेन ।’
प्रचण्डले पञ्चायत तानाशाही शासन उग्रचरणमा पुगेको बेला कम्युनिस्ट नेतृत्वमा २०२८ सालमा झापा विद्रोह भएको बताउनुभयो ।
त्यो पनि सशस्त्र संर्घषकै स्वरुपमा भएको उल्लेख गर्दै उहाँले भने, ‘२००७, ०१७ र ०२८ मा भएका सशस्त्र विद्रोहको शिक्षा र अनुभवबाट २०५२ साल फागुन १ गतेबाट नेकपा माओवादी पार्टीको नेतृत्वमा जनयुद्धको घोषणा भयो, त्यो मेरै नेतृत्वमा भएको थियो ।’ २००७, २०२८ र २०५२ सालको सशस्त्र संघर्षका बीचमा अन्तर्सम्बन्धित भएको प्रचण्डले बताउनुभयो ।
‘पहिलोबाट शिक्षा लिएर दोस्रो, दोस्रोबाट शिक्षा लिएर तेस्रो पटक सशस्त्र युद्ध भएको छ,’ उहाँले भन्नुभयो ‘अरु पनि छन् । तर, देशको आन्दोलन, परिवर्तन, कम्युनिस्ट आन्दोलन उठाउने मुख्य जनयुद्ध हो ।’
सहि विचार र नेतृत्व भए असम्भव भएका कुराहरुलाई सम्भव बनाउन सकिने प्रचण्डको भनाई छ । तत्कालीन नेकपा एमाले र नेकपामा माओवादी केन्द्रको पार्टी एकताको प्रसँगलाई कोट्याउँदै भने, ‘केही समयअघि दुई सत्रुता व्यवहार भएका दुई कम्युनिस्ट पार्टीको एकताबाट अहिले नेकपा बनेको छ ।’
‘माओवादी एमालेलाई एक ठाँउमा आउन सक्दैनन् भन्नेहरु थिए,’ प्रचण्डले भन्नुभयो, ‘तर चुनावमा गएर दुईहिताई ल्याएर आइसकेका छौ, एकता सम्भव भएको छ ।’
जनयुद्ध सुरु गर्दा सानो संख्यामा भएका जनमुक्ती सेनाले राजतन्त्रको अन्त्य गर्छ, संविधानसभाबाट संविधान ल्याउँछ, शान्ति प्रक्रियामा आउला रु भन्ने धेरैलाई विश्वास नगरेको उनले बताउनुभयो ।
कार्यक्रममा अर्का अध्यक्ष एवम् प्रधानमन्त्री के पी शर्मा ओली पनि आउने बताइएपनि अन्तिम अवस्थामा आउन नसक्ने जानकारी गराइएको थियो । ओली जनयुद्धसँग सम्बन्धीत कुनै कार्यक्रममा पनि अहिलेसम्म सहभागि हुनुभएको छैन ।