नेपालको व्यापार घाटा : ६ महिनामा ६ खर्ब ३७ अर्ब, कसरी होला समृद्धि ?

मूलखबर संवाददाता
काठमाडौं, १८ माघ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कुल वैदेशिक व्यापार घाटा ६ खर्ब ३७ अर्ब पुगेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कुल वैदेशिक व्यापार ७ खर्ब ५१ अर्ब ९७ करोड ३४ लाख ७० हजारको व्यापार भएकोमा नेपालले ६ खर्ब ३७ अर्व ४१ करोड ३९ लाख ७४ हजार रुपैयाँको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको हो ।

उच्च आयातको तुलनामा निर्यात सुस्त हुँदा नेपाल ठूलो वैदेशिक व्यापार घाटा व्यहोर्ने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल विभिन्न १ सय ४४ वटा मुलुकसँग व्यापार गरेको छ । जसमध्येमा सबैभन्दा ठूलो वैदेशिक व्यापार घाटाको अन्तर छिमेकी मुलुक भारत र चीनसँग रहेको छ ।

पहिलो ६ महिनामा मात्र नेपालको भारतसँगको व्यापार घाटा ३ खर्व ८३ अर्व ६९ करोड १५ लाख २० हजार रहेको छ । यो ६ महिनामा नेपाल भारतबाट ४ खर्ब २३ अर्ब ८३ करोड ५३ लाख ८४ हजार मूल्य बराबरको सामाय आयात गरेको छ भने निर्यात जम्मा ४० अर्ब १४ करोड ३८ लाख ७५ हजार मूल्य बराबरको सामान निर्यात गरेको छ ।

यसैगरी, चालू आर्थिक वर्षको पहिलो ६ महिनामा चाइनासँग नेपालले १ खर्ब १७ अर्ब २३ करोड ६२ लाख १६ हजारको व्यापार घाटा व्यहोर्नु परेको छ । ६ महिनामा नेपालले चाइनाबाट १ खर्व १८ अर्ब २५ करोड २७ लाख ७६ हजार मूल्य बराबरको सामान आयात गर्दा नेपालले जम्मा १ अर्ब १६ करोड ५ लाख ६१ हजार मूल्य बराबरको सामान निर्यात गरेको छ ।

तथ्यांकअनुसार गत वर्षको तुलनामा वैदेशिक व्यापार घाटा ६ प्रतिशतले कम भएको छ । विभागको तथ्यांकअनुसार गत वर्ष सो अवधिमा ६ खर्ब ७८ अर्ब ५२ करोड ५० लाख ६० हजार वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । विभागको अनुसार गत वर्षभन्दा आयत निर्यात अनुपात २३।९१ प्रतिशतको सुधार आएको तथ्यांक देखाएको छ । यसैगरी, कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२।४ प्रतिशत रहँदा निर्यात हिस्सा ७।६ प्रतिशत रहेको तथ्यांक देखिएको छ ।

भन्सार विभागकले सार्वजनिक गरेको ६ महिनाको तथ्यांकअनुसार नेपाल विभिन्न मुलुकबाट ६ खर्ब ९४ अर्ब ६९ करोड ९३ लाख २२ हजार मूल्य बराबरको सामान आयात गरेको छ । नेपाल भने चालू आर्थिक वर्षको ६ महिनामा विभिन्न मुलुकमा जम्मा ५७ अर्ब २७ करोड ९७ लाख ४८ हजार मूल्य बराबरको सामाय निर्यात गरेको छ ।

विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष गत वर्षको तुलनामा नेपालले विभिन्न मुलुकमा निर्यातमा सुधार देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष निर्यात २६।१३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष आर्थिक वर्षको ६ महिनामा नेपाल विभिन्न मुलुकमा ५४ अर्ब ४१ करोड २४ लाख ५९ हजार मूल्य बराबरको सामान निर्यात गरेको थियो भने चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ७५ अर्ब २७ करोड ९७ लाख ४८ हजार मूल्य बराबरको निर्यात गर्न सफल भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनाको अवधिमा नेपालले विभिन्न मुलुकसँग ६ खर्ब ३७ अर्ब ४१ करोड ३९ लाख ७४ हजार रुपैयाँको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको समाचार राजधानी दैनिकमा छ ।